+

बेलायतमा रहेका नेपाली खेलाडी साजन डंगोलका २ विश्व कीर्तिमान

२०८३ कात्तिक  १६ गते ८:५७ २०८३ कात्तिक १६ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई दुर्लभ विश्व कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका छन्।
  • डंगोलले सन् २०२४ फेब्रुअरी १६ मा एक घण्टामा २ हजार २१८ पटक जगलिङ गरेर पहिलो कीर्तिमान बनाएका थिए।
  • सन् २०२६ मे १५ मा उनले लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म फुटबल नखसाली दुवै खुट्टा आलोपालो प्रयोग गरेर दोस्रो कीर्तिमान कायम गरे।

१६ कात्तिक, लन्डन । बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०२४ मा पहिलो विश्व कीर्तिमान बनाएका डंगोलले हालै दोस्रो कीर्तिमान पनि गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका हुन् ।

सन् २०२४ फेब्रुअरी १६ मा बेलायतको बर्मिङ्घममा एक घण्टामा २ हजार २१८ पटक फुटबल जगलिङ गरेर पहिलो विश्व कीर्तिमान बनाएका साजनले सन् २०२६ मे १५ मा लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म जगलिङ गर्दै दोस्रो कीर्तिमान कायम गरेका हुन् ।

दोस्रो कीर्तिमान कायम गर्ने क्रममा उनले फुटबललाई भुइँमा खस्न नदिई दुवै खुट्टा आलोपालो प्रयोग गरेर लगातार जगलिङ गरेका थिए । आफूलाई परीक्षण गर्दै क्षमताको सीमा थप विस्तार गर्ने उद्देश्यले यो चुनौती लिएको उनले बताए ।

आइतबार बेलायतको बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो विश्व कीर्तिमानी उपलब्धि, फुटबल यात्रा, संघर्ष र सफलताको कथा सुनाए । ‘फुटबल पिचदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा आयोजित कार्यक्रममा उनले फुटबलसँग जोडिएको आफ्नो यात्रा र सगरमाथा आरोहणको अनुभवसमेत साझा गरे ।

फुटबलदेखि विश्व कीर्तिमानसम्म

काठमाडौंको टोखामा जन्मिएका डंगोलले सानैदेखि फुटबल खेल्न थालेका थिए । अन्डर–१४ राष्ट्रिय लिगबाट फुटबल यात्रा सुरु गरेका उनले नेपालको ए डिभिजन क्लब ब्रिगेड ब्वाइजबाट खेले । त्यसपछि मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स क्लब र बाँसबारीलगायतका क्लबबाट विभिन्न लिगमा सहभागी भए ।

झन्डै आठ–नौ वर्ष फुटबल खेलेका उनी अन्डर–१९ राष्ट्रिय टोलीमा समेत छनोट भएका थिए । तर, स्वास्थ्य समस्या र चोटका कारण राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएनन् ।

नेपालमै बीबीए अध्ययन पूरा गरेका डंगोल सन् २०२१ मा थप अध्ययनका लागि बेलायत आएका थिए । उनले सन् २०२२ मा बर्मिङ्घम सिटी युनिभर्सिटीबाट म्यानेजमेन्ट एन्ड इन्टरनेसनल बिजनेसमा स्नातकोत्तर गरे ।

बेलायत आएपछि पनि फुटबललाई निरन्तरता दिएका उनले बर्मिङ्घम टाइगर्स, साल्टली स्टालियन्स र गुरु रविदासलगायतका क्लबबाट सेमीप्रो तथा नन–लिग फुटबल खेले । विभिन्न नेपाली फुटबल प्रतियोगितामा समेत सहभागी हुँदै आएका उनी हाल फ्रुट क्वालिटी टेक्निसियनका रूपमा इन्स्पेक्सनसम्बन्धी काम गर्छन् ।

फुटबलसँगै सगरमाथा आरोहण

फुटबल जगलिङमा दुई विश्व कीर्तिमान कायम गरेका डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेका छन् । सगरमाथा आरोहण उनको बाल्यकालदेखिकै सपना थियो ।

सन् २०२५ अप्रिल १९ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका उनले मे १४ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

आफ्नो जीवनमा विशेष उपलब्धि हासिल गर्ने प्रेरणा आमाबुबाको संघर्षबाट पाएको उनले बताए । आमाबुबाले जीवनमा गरेको संघर्ष नजिकबाट देखेका कारण आफूले पनि मेहनत गरेर केही उपलब्धि हासिल गर्ने अठोट लिएको उनको भनाइ थियो ।

निरन्तर अभ्यास र आत्मविश्वास

साजनको सफलतापछाडि लामो र कठोर अभ्यासको कथा छ । बाल्यकालमा फुटबल खेल्ने समयदेखि नै नियमित प्रशिक्षणपछि पनि खुट्टा थकाउन र आफूलाई थप चुनौती दिन जगलिङ गर्ने गरेको उनले सुनाए । ‘हामीले आफूलाई आफैंले चुनौती दिनुपर्छ । धेरै मानिसले आफ्नो सीमा निर्धारण गर्छन्, तर आफ्नो क्षमता कति छ भन्ने कुरा आफैंले परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘जुनसुकै लक्ष्य चुनौतीपूर्ण र कठिन भए पनि मेहनत, लगाव र निरन्तरताका साथ अघि बढ्यौं भने हासिल गर्न सकिन्छ ।’

कार्यक्रममा विवेक खातीले सहजीकरण गर्दै डंगोलको फुटबल यात्रा र विश्व कीर्तिमानबारे जानकारी गराएका थिए । उनका सहकर्मी दिनेश थापा तथा विदेशी मूलका केही सहकर्मी खेलाडीले पनि डंगोलको कठोर मेहनत र दृढ संकल्पको प्रशंसा गर्दै उनको यात्राबाट सबैले प्रेरणा लिन सक्ने बताए ।

सो अवसरमा डंगोलको जीवन, फुटबल यात्रा, सगरमाथा आरोहण, संघर्ष र विश्व कीर्तिमानको उपलब्धि समेटिएको संक्षिप्त भिडियो सामग्री प्रदर्शन गरिएको थियो । त्यस्तै, जानकी सिंजालीले डंगोलको जीवनमा केन्द्रित रहेर निर्माण भइरहेको डकुमेन्ट्रीबारे जानकारी गराइन् ।

डंगोलले आफ्नो सफलतामा योगदान पुर्‍याउने र हौसला दिने परिवार, साथीभाइ, प्रशिक्षक, सहकर्मी तथा सबैप्रति आभार व्यक्त गरेका छन् ।

बेलायत विश्व कीर्तिमान साजन डंगोल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय