Comments Add Comment

महिला एसियन कप छनोटअन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने

फाइल तस्वीर

२५ साउन, काठमाडौं । नेपालमा हुने तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारीका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिए ।

एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको तुलाधरले बताए । यस अघि जारी गरेको तालिकाअनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्य सहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर परिवर्तन भएको तालिकाले टोलीलाई केही निराश बनाएको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment