
विभिन्न अनुसन्धानले चुरियाको समस्या समाधानको लागि विभिन्न सिफारिश गरेका छन् । आशा छ- चुरियाको बोर्डले देखिने गरी उक्त क्षेत्रमा अहिलेको विज्ञान प्रविधि अनुरूप वातावरणमैत्री कार्य गर्नेछ । बोर्डले वर्षेनि बगिरहेको लाखौं टन माटो रोक्ने र भू-क्षय, भू-स्खलन, पानीभरण सहितको वन-वनस्पति, वन्यजन्तु र सन्तुलित पारिस्थितिकीय प्रणालीलाई जोगाइराख्ने कार्य गर्नेछ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रपति कक्षमा चुरे र भावरको संरक्षण किन जरुरी छ, कसरी र कुन प्रविधिबाट गर्न सकिन्छ भनेर विभिन्न प्राविधिक पक्षको बारेमा संरक्षणकर्मी र भूगोलवेत्ताको हैसियतले छलफल गरेको थिएँ । छलफलको क्रममा धेरै वैज्ञानिक आधार, विभिन्न समयको भू-उपग्रह नक्शा, नदीको अवस्था र तराईको भौतिक पूर्वाधार अनि करोडौं मानिसको जीविकोपार्जनसँग सम्बन्धित कुराहरूको बारेमा आद्योपान्त व्याख्या गरेको थिएँ ।
चुरेको संरक्षण गरेमा समथर तराई सहित समग्र चुरिया पारिस्थितिकीय प्रणालीको एकीकृत विकास हुन्छ । नेपालको हिमाली भूभाग पानी बैंक हो, जसले अरबौं मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यस्तै, चुरिया श्रृङ्खला भावर र समथर तराईको पारिस्थितिकीय बैंक हो जसले यो क्षेत्रको प्राकृतिक सन्तुलनसँगै करोडौं मानिसको जीवनयापनलाई सहज बनाइदिएको छ।
चुरिया, भावर, दुन, भित्री मधेश र समथर तराईलाई जोगाउने हो भने आजैदेखि निम्न कार्य गर्नु उचित हुनेछ : वन-जङ्गलको भूभाग स्थिर राख्नुका साथै वन पैदावारको वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ । जैविक विविधताको संरक्षणमा विशेष जोड दिनुपर्छ । जथाभावी चुरे क्रस गरेर बाटो बनाउने कार्य तत्काल बन्द गर्दै भावर र चुरेको दोहन रोक्ने काममा हामी चुक्नुहुँदैन ।
चुरियामा पशुपालन कार्यलाई व्यवस्थित गर्ने, पहिरो नियन्त्रणको लागि जैविक व्यवस्थापन, भिरालो जमीनमा निगालो, बाँस र क्रसिङ्ग छेकबार, बहुवर्षीय कृषि प्रणालीको प्रयोग, पानीको मुहान तथा सिमसारको संरक्षण, ठूला ठूला जलाशय बनाउने जसले वर्षैभरि पानीभरण, नदीजन्य पदार्थको वैज्ञानिक उत्खनन गर्ने जस्ता विषयमा ध्यान दिनुपर्छ ।

के हो चुरिया ?
शिवालिक पर्वत, (जसलाई शिवालिक हिल्स वा बाहिरी हिमालय पनि भनिन्छ) नै चुरिया पर्वत श्रृङ्खला हो । शिवालिक उत्तरी भारतीय उपमहाद्वीपको शिवालिक, उप-हिमालय पर्वतमाला सिक्किम राज्यको टिष्टा नदी, पूर्वोत्तर भारत, नेपालहुँदै उत्तरपश्चिम भारत र उत्तर पाकिस्तान सम्म १६०० किलोमिटर भन्दा बढी फैलिएको छ ।
५ देखि ६ किलोमिटरको चौडाइमा रहेको नेपालको चुरिया पर्वत श्रृङ्खलामा भौगर्भिक समय अनुसार मायोसिनको पछिल्लो समयदेखि गेग्रानहरू थुप्रिन थालेको पाइन्छ । यसरी समय कालखण्डमा एकपछि अर्को परत (पत्र) थपिंदै गएर पत्रे चट्टानको ढिस्को श्रृङ्खला नै चुरिया पर्वत हो ।
भौगर्भिक समयानुसार आजभन्दा करीब १.५ करोड वर्ष पहिले मायोसिन युगदेखि प्लेस्टोसियन युगको पछिल्लो समयको बीचको समयाखण्डसम्म हिमालयपर्वत श्रृङ्खला चुलिंदै गएको र तिब्बती पठार हुँदै बगेर आएका नदीहरूले थुपारेको गेग्रानको पूर्व–पश्चिम लमतन्न परेको अग्ला ढिस्काहरू चुरिया श्रृङ्खला हुन् ।
चुरिया श्रृङ्खला हिमालय पर्वत बन्ने क्रमको कान्छो पर्वत हो जसलाई हामी जवान पर्वत पनि भन्दछौं । भौगर्भिक हिसाबले यस्ता पर्वतलाई शिवालिक वा सव-हिमालय भनिन्छ ।
नेपालमा चुरियाको भौगोलिक विस्तार
नेपालमा चुरियाको फैलावट पूर्व-पश्चिम झन्डै ८०० किलोमिटर छ र क्रमश: पश्चिमदेखि पूर्वतिर उँचाइको हिसाबले घट्दै गएको छ । पश्चिम नेपालको चुरिया श्रृङ्खला अग्लो हुनुको साथै वन–जङ्गल र वन्यजन्तुको हिसाबले धेरै अब्बल छ, जति पूर्वतिर लाग्दछौं चुरियाको हैसियत खस्कँदै गएको छ । अझ भनौं सिरहा र सप्तरीको चुरियाको अवस्था दर्दनाक छ ।
भौगोलिक उप-विभाजन
भौगर्भिक भू-खण्ड | क्षेत्रफल (हे) | प्रतिशत |
चुरे | १३,५२,४३३ | ३४.४६ |
खोच | ८८,०८६ | २.२४ |
दुन, भित्री मधेश | ३,२८,०१८ | ८.३६ |
भावर | ५८४,४९९ | १४.८९ |
तराई | १५,७२,१६८ | ४०.०५ |
जम्मा | ३९,२५,२०४ | १०० |
चुरिया पर्वत श्रृङ्खलामा वार्षिक औसत १४०० देखि २००० मिलिमिटर पानी पर्दछ । उपोष्ण कटिबन्धीय जलवायु भएको यस क्षेत्रमा मिश्रित कडा वनदेखि कोणधारी जङ्गलसम्म पाइन्छ । मुख्यतया बलौटे ढुङ्गा, माटे ढुङ्गा र सङ्गुटका जस्ता चट्टानहरूले बनेको हुन्छ ।
चुरिया पर्वत श्रृङ्खलामा कति टन गेग्रान (खुकुलो मात्रामा रहेको ढुङ्गा गिट्टी) छ ?
मानिसले यस धर्तीबाट निकाल्ने वस्तुमध्ये ८५ प्रतिशत ढुङ्गा, गिट्टी, बालुवा हो । हाम्रो देशमा अहिले पूर्वधार निर्माणको कार्य चाहे सरकारी स्तरबाट होस् या व्यक्तिगत स्तरबाट तीव्र गतिमा भैरहेको छ ।
शहरीकरण, औद्योगिकीकरण, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, रेल्वे, राजमार्गको विस्तार, द्रुतमार्ग, विमानस्थलको स्तरोन्नति, साना–साना बजारोन्मुख बस्तीहरू सबैलाई निर्माण सामग्री चाहिन्छ । यी सबै यिनै चुरे तथा अन्य पहाडको ढिस्कोबाट नदीमा गएर सूक्ष्म पार्टिकलको रूपमा परिणत भएर विकास निर्माणको स्थानसम्म पुग्दछन् ।
हाम्रो नेपालको दक्षिणी चुरिया पारिस्थितिकीय प्रणाली मार्फत नेपालको पूर्वाधार मात्र नभई भारतको हजारौं माइल सडक, सिंचाइ नहर, शहरीकरणमा आपूर्ति गर्दै आएको छ । दैनिक हजारौं ट्रक विभिन्न नाका हुँदै ढुङ्गा, गिट्टी र बालुवा भारतको विभिन्न शहरमा हामीले कौडीको भाउमा बेचेका छौं ।
नदीजन्य खासगरी ढुङ्गा, गिट्टी र बालुवा चुरे पहाड, दुन र भावरमा महत्वपूर्ण आर्थिक स्रोतको स्थापित भएको र स्थानीय निकायले आफ्नो राजस्वको दरिलो स्रोतको रूपमा लिएका छन् । यो प्राकृतिक सम्पत्ति साझा भएकोले निजी क्षेत्रले अत्यधिक दोहन गरेर स्थानीय निकायलाई थोरै मात्र राजस्व बुझाएर आन्तरिक खपतसँगै सीमापारि पनि निर्यात गर्दै आएका छन् ।
स्थानीय निकायको स्वीकृति लिएर चुरे, तराई, मधेशमा मात्रै २५० भन्दा बढी (दर्ता भएका) नदीजन्य पदार्थको व्यापार गर्ने क्रसर उद्योगहरू रहेका छन् । अधिकांश चुरिया र भावर क्षेत्रहरू भूस्खलनको उच्च जोखिममा छन् ।
नेपालको पश्चिमदेखि पूर्वसम्म अविच्छिन्न रूपमा लमतन्न परेर विस्तारित चुरिया पर्वत श्रृङ्खलामा ३ अरब ६१ करोड ९१ लाख मेट्रिक टन ढुङ्गा, गिट्टी रहेको छ । लगभग एउटा टिप्परले २० टन ग्रावेल बोक्दछ, यो हिसाबले चुरिया पर्वत श्रृङ्खलामा करीब १८ करोड १० लाख टिप्पर गेग्रान रहेको ।
यो त्रि-आयामिक विश्लेषणमा ३०० मिटर भन्दा माथिको अग्ला ढिस्कोमा रहेको गेग्रानको मात्र मापन गरिएको छ । यो मापन गर्दा केही प्रतिशत तल–माथि हुनसक्छ ।
भौगोलिक सूचना प्रणालीमा तयार गरेको चुरिया उँचाइको टिन मोडेल
अन्त्यमा,
प्रकृतिले बिगारेमा प्रविधिले सपार्नुपर्नेमा प्रविधि लगाएर प्रकृति बिगार्ने उल्टो बुद्धि हामीले समयमै सच्याउनै पर्छ । नेपालमा जुन दिनदेखि राजनैतिक विज्ञताको नभई अनुसन्धान विज्ञताको कदर हुन्छ, त्यो दिनदेखि नेपालले वैज्ञानिक विकासको रफ्तार लिनेछ ।
चुरिया दोहन नेपालमा संस्थागत रूपमै भएको छ । खोरिया फडानी हुँदै, राजनैतिक लालपुर्जाको वितरण किन नहोस्, अनधिकृत चुरिया दोहन नेपालमा संस्थागत रूपमै भएको छ ।
वन डढेलो, जथाभावी रोडको ट्रयाक खोल्ने कार्य, दक्षिणी भेगमा हुने मौसमी तथा जलवायु क्षयीकरणको कारण भूस्खलन, पहिरो, सुक्खा पहिरो, नदी तटीय क्षेत्रको व्यापक कटान, खहरे बाढी, भूउपयोगमा परिवर्तन गरिदिने जस्ता कार्य चुरिया र त्यस सम्बन्धी परिस्थितिकीय प्रणालीसँग जोडिएका समस्या हुन् ।
(लेखकको प्रस्तुत विचारले कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।)
प्रतिक्रिया 4