Comments Add Comment

ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए ।

यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक पदक हो । यसअघि २०१२ को लण्डन ओलम्पिकमा भारतले ६ पदक जितेको थियो ।

२३ वर्षीय निरजले पुरुष ज्याभलिन थ्रोमा ८७.५७ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । ओलम्पिकमा स्वर्ण जित्नका लागि स्पोर्ट्स अथोरिटी अफ इन्डिया (एसएआई)ले ठूलो रकम खर्च गरेको थियो । एसएसआईले निरजका लागि मात्रै ७ करोड खर्च गरेको दैनिक भास्करले जनाएको छ ।

निरजको ट्रेनिङका लागि ७ करोड भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । उनले विदेशमा तालिम र प्रतियोगितामा भाग लिँदा ४५० दिन बिताए भने त्यसमा ४.८५ करोड खर्च भएको समाचारमा जनाइएको छ ।

यस बीचमा निरजले २६ प्रतियोगिता खेले । उनले दक्षिण अफ्रिका, पोल्याण्ड, टर्की, फिनल्याण्ड, चेक रिपब्लिक र स्वीडेनमा ट्रेनिङ क्याम्पमा भाग लिएका थिए ।

टोकियो ओलम्पिकको तयारीका लागि निरजले युरोपियन टुर्नामेन्टमा समेत भाग लिए । उनले स्वीडेनमा मात्रै ५० दिन ट्रेनिङ क्याम्पमा बिताएका थिए । यस ट्रेनिङका लागि एसएआई १९ लाख २२ हजार खर्च गरेको थियो ।

यसैगरी निरजको प्रशिक्षकका लागि तलब खर्च १ करोड २२ लाख भएको थियो । निरजले स्वर्ण जित्नुमा प्रशिक्षकको समेत ठूलो भूमिका रहेको बताइसकेका छन् । यस्तै निरजको ज्याभलिनमा ४ लाख ३५ हजार खर्च भएको थियो ।

सन् २०१६ मा यू–२० वल्र्ड च्याम्पियनसिपमा गोल्ड मेडल जितेपछि चर्चामा आएका निरजले जुनियर वल्र्ड च्याम्पियनसिपमै ८६.४८ मिटर थ्रो गर्दै विश्व कीर्तिमान बनाएका थिए ।

त्यसबाहेक उनले २०१८ को जाकार्ता एसियन गेम्स, गोल्डकोस्ट कमनवेल्थ गेम्स, २०१७ को एसियन च्याम्पियनसिप, २०१६ को साउथ एसियन गेम्समा पनि गोल्ड मेडल जितेका थिए । उनले २०१६ को जुनियर एसियन च्याम्पियनसिपमा सिल्भर मेडल जितेका थिए ।

यस्तै महिला र पुरुष हक्की टिमका लागि एसएआईले ८३ करोड भारु खर्च गरेको थियो । भारतको पुरुष हक्की टिमले टोकियो ओलम्पिकमा कास्य जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment