Comments Add Comment

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउनुस् : अर्थमन्त्री

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको व्रिफिङ लिने क्रममा मन्त्री शर्मालेे राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्ययोजना ल्याउन निर्देशन दिए ।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन, एक पटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपाय तपाईहरु आफैंले फेला पार्नुहुनेछ,’ उनले भने । सो कार्यमा आवश्यक जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराउन आफू तयार रहेको उनले बताए ।

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । ‘करदाता आफैं उत्साहित भएर कर तिर्ने हुनुपर्छ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,’ मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

उने समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाव किताव खोई ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो,’ उनले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए । राजस्व समूहका कर्मचारीले १०-५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए । आन्तरिक राजस्व विभाग अन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरु समेत निकाल्न निर्देशन दिए ।

प्रविधिको माध्यमबाट सवै राजस्व कार्यालयहरुलाई  यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए । वि.सं २०५४ सालदेखि मूल्य अभिबृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगको तथ्याङ्क उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न विलिङ्ग सिष्टममा एकीकृत गर्न आग्रह गरे । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयले लक्ष्यअनुसार काम गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए । गत वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ ।

चालु आर्थिक वर्षको लागि ५२२ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएको छ । असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आवद्ध छन् ।

व्यवसायीहरु करको दायरामा औपचारिक रुपले आवद्ध रहेको भएतापनि वाषिर्क विवरण नबुझाउनेको संख्यामा वर्षेनी बृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए । कर कार्यालयमा दर्ता भई वाषिर्क विवरण नबुझाउनेहरु आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment