Comments Add Comment

जर्मन बुण्डेसलिगा आजदेखि, पहिलो खेलमा बायर्न र बोरुसिया मोन्चेनग्लाइबाक भिड्ने

२९ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिख खेल्दैछ । बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ ।

लगातार १०औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्नका लागि मोन्चेनग्लाडबाक कडा प्रतिद्वन्दी हुन सक्छ । यो खेल बोरुसिया पार्कमा नेपाली समय अनुसार राति १२:१५ बजे शुरु हुनेछ ।

बायर्नका नयाँ प्रशिक्षक युलियन नागेल्समानको लागि यो पहिलो प्रतिस्पर्धात्मक खेल समेत हुनेछ । कोरोना भाइरस महामारीले गर्दा बायर्नको गत साता तय भएको जर्मन कपको खेल स्थगित भएको थियो ।

हान्सी फल्किले जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक बन्न गएपछि नागेल्समान बायर्नको प्रशिक्षक बनेका थिए ।

यस पटक केही खेलाडीले बायर्न छाडिसकेका छन् । डेविड अलामा, डुगलास कोस्टा, जाभी मार्टिनेज र जेरोमी बोएटेङले बायर्न छाडेका हुन् । बायर्नले नयाँ सिजनका लागि आरबी लाइपिजगबाट डिफेण्डर डायोट उपामेकानोलाई भित्र्याएको छ । यस्तै इङ्लिस डिफेण्डर ओमार रिचड्र्सलाई पनि अनुबन्ध गरेको छ ।

गत सिजन बायर्नले घरेलु मैदानमा ग्लाडबाकलाई ६–० को फराकिलो अन्तरले हराएको थियो तर अवे मैदानमा भने ३–२ ले पराजित भएको थियो ।

बायर्नलाई टक्कर दिने क्लबमा बोरुसिया डर्टमण्ड र आरबी लाइपिजग छन् । जर्मनीका पारम्परिक ठूला क्लब वेडर ब्रेमन र साल्का गत सिजन रेलिगेसनमा परेका थिए । यी दुई क्लब पुनः शीर्ष डिभिजनमा फर्कने लक्ष्यका साथ दोस्रो डिभिजनमा खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment