Comments Add Comment

रेमिट्यान्स रकम बैंकमा राखे थप एक प्रतिशत ब्याज

२९ साउन, काठमाडौं । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताएका छन् ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ’ मौद्रिक नीतिमा भनिएको छ ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन विद्युतीय माध्यममार्फत् गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

गत आर्थिक वर्षमा कोभिड–१९ महामारीबीच पनि निर्यात र विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले बताएको छ । तर पछिल्लो समय आयात वृद्धिमा तीव्रता आउन थालेको र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दवाव पर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकको विश्लेषण छ ।

मौद्रिक नीतिले गरेको यो व्यवस्थाले बैंक तथा वित्तयि संस्थामा लगानी योग्य रकम बढ्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ११ महिनामा ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ ।

कोरोना महामारीमा वैदेशिक रोजगारी ठप्प हुँदा समेत रेमिट्यान्स भने सन्तोषजनक नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment