+
+

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ १६ गते १९:१४
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् ।

उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो ।

‘आन्तरिक राजश्व कार्यालय, धनगढी समेतको सहयोगमा उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको छ,’ विभागका एक अधिकारीले भने, ‘अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले यस अघि ५ जना पक्राउ गरेर विभागमा बुझाएको थियो । प्रहरीले ५ जना पक्राउ गरी बुझाएपछि अनुसन्धानका क्रममा मुख्य नाइकेसहित थप २ जना पक्राउ परेका हुन् ।

जिप्रका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार पहिले पक्राउ परेका ५ जनासमेत गरी ७ जना नै अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरी हिरासतमा रहेपनि अनुसन्धान गरी मुद्दा दर्ता भने विभागले नै गर्नेछ ।

भारतीय नागरिकबाट खुल्यो पोल

प्रहरीले सामान्य चेकजाँचका क्रममा भारतीय नागरिकबाट अन्तःशुल्क स्टिकर अवैध रुपमा बिक्री वितरण हुने गरेको खुलेको थियो । गत साउन २५ गते कैलाली गौरीगंगा नगरपालिका वडा–७ स्थित तालबन्द सडकखण्डमा मोटरसाइकलमा सवार व्यक्तिहरुलाई चेकजाच गर्दा रहस्य खुलेको थियो ।

प्रहरीका अनुसार भारतको लखिमपुर बरौठा बस्ने १९ वर्षीय संजित कुमार र सोही ठाउँ बस्ने वर्ष २० को रिङ्कु कुमारले ३ वटा कार्टुन बोकेर ल्याएका थिए । प्रहरीले चेकजाच गर्ने क्रममा उनीहरुको कार्टुनमा आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकर टालेको पाइयो ।

एउटै स्टिकटर नम्बर धेरै ठाउँमा टालिएको पाएपछि प्रहरीले थप सोधखोज गर्यो । प्रहरीका अनुसार चेकजाँच गर्दा उक्त कार्टुनहरु भित्र आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २,८८,६७४) फेला पारीएको थियो ।

त्यसपछि प्रहरीले स्टिकर बरामद गरी निज दुवै जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरु मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएपछि प्रहरीले थप अनुसन्धान गर्यो ।

उक्त स्टिकर जिल्ला कैलाली गौरीगंगामा रहेको वेष्टर्न लिकर्स प्रालिबाट ल्याई निजहरु बस्ने कोठामा छाप लगाउन गरिएको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएके छ । उनीहरुको बयान पछि प्रहरीले उनीहरुको घरमा खानतलासी गरी केही सामान बरामद गरेको थियो ।

त्यहाँ थप ३ जना प्रहरीले पक्राउ गर्यो । कोठामा रहेका रौतहटको गरुडा नगरपालिका-१ जयनगर बस्ने वर्ष ४० को राज कुमार शाह, पर्साको वीरगञ्ज–१३ घन्टाघर बस्ने वर्ष ५५ को विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष २२ को सुरेश कुमार लाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे जानकारी दिएपछि यो गिरोहका मख्य नाइकेलाई विभागले पक्राउ गरेको हो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?