+
+

त्रिविमा जडान गरिएको सफ्टवेयरले थेसिस चोरी गरे-नगरेको पत्ता लगाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १९:२८

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनुसन्धामूलक लेख तथा शोधपत्रहरुको नक्कल भए नभएको पत्ता लगाउने एन्टी प्लेजारिजल सफ्टवेयर ‘टर्निटिन’ जडान गरेको छ ।

तीन महीना अगाडि नै जडान गरिएको यो सफ्टवेयरले चोरी गरिएका, नक्कल गरिएका अनुसन्धानमूलक लेख, शोधपत्रहरु पत्ता लगाउँछ । यो सफ्टवेयर प्रणालीमा कुनै पनि लेख तथा शोधपत्रहरु अपलोड गरेपछि अनलाइन माध्यममा भएका कुन किताबको कुन पाठबाट कत्ति सारिएका, नक्कल गरिएको छ भनेर रातो वा पहेंलो रङमा देखाउने पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले बताए । जसले गर्दा कुन लेखक वा अनुसन्धानकर्ताको किताबबाट लिइएको हो भन्ने स्पष्ट रुपमा देखाउने उनको भनाइ छ ।

‘अब यो सफ्टवेयरले बौद्घिक चोरी नियन्त्रण गर्ने उत्तम उपाय हो । अब कसैले पनि अरुको सारेर, चोरेर शोधपत्र, लेखहरु तयार गर्न सक्दैन,’ उनले भने । पुस्तकालयका अनुसार उक्त सफ्टवेयरले पहिचान गरेको त्रिविको मापदण्डभन्दा बढी नक्कल भएका बौद्घिक चोरीका शोधपत्र, रिसर्च पेपर, रिपोर्टहरु विश्वविद्यालयले लिँदैन ।

शुरुवाती चरणमा विश्वविद्यालयमा एमफिल, पिएचडीको शोधपत्र, खोजमूलक लेखहरु एन्टी प्लेजारिजम गर्दै अपलोड गरिरहेको जनाएको छ । केन्द्रीय लाइब्रेरीमा दर्ता भएका कागजातहरु यहाँ अपलोड गर्ने कार्य भइरहेको छ । अहिले पनि हरेक दिन पाँच जनाको समूहले पीडीएफ फाइल बनाउने र अपलोड गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म पुस्तकालयले सफ्टवेयरमा करीब चार हजार अपलोड भइसकेको र यो वर्षभित्र १० हजार शोधपत्र, अनुसन्धानमूलक लेख अपलोड गर्ने तयारी भइरहेको जनाएको छ । त्रिविसँग पाँच करोडभन्दा बढी शोधपत्र, अनुसन्धान तथा खोजमूलक लेखहरु रहेका छन् । नेपालमा गरिएका यस्ता शोधपत्र, अनुसन्धानमूलक तथा खोजमूलक लेखहरु अनलाइन माध्यमबाट पढ्न सकिनेछ ।

त्रिविले २० प्रतिशतभन्दा बढी नक्कल गरिएको शोधपत्र, अनुसन्धानमूलक लेखलाई मान्यता नदिने मापदण्ड बनाएको छ । कुनै पनि शोधपत्र, रिसर्च पेपर तयार गर्नको लागि कुनै पुस्तक लेख अथवा लेख्य सामग्रीलाई विषयलाई उद्घरण गर्नुपर्ने श्रेष्ठले बताए ।

निश्चित समयभन्दा पछि आएका शोधपत्र तथा लेखलाई मान्यता नदिइने

त्रिविको मापदण्डभन्दा बढी नक्कल गरिएका शोधपत्र र अनुसन्धानमूलक लेखहरुलाई यो प्रणालीमा नराख्ने गरी काम भइरहेको पुस्तकालयले जनाएको छ ।

विदेशी विश्वविद्यालयबाट गरेका स्नातकोत्तर, एमफिल, पिएचडी गरेकाहरुलाई समकक्षता प्रमाणपत्रका लागि पेश गरेको शोधपत्रहरुमा समस्या देखिएपछि यसरी काम गर्न थालिएको प्रमुख श्रेष्ठले बताए ।

‘एक जना प्राज्ञले तीन वर्ष अघि भारतबाट पिएचडी गरेर आए । सम्बन्धित कलेजले उनलाई पिएचडीको अवार्ड पनि दिइसकेको छ । यो वर्ष पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाण पत्रका लागि आवेदन दिँदा ७५  प्रतिशत प्लाजारिजम गरेको पाइयो,’ उनले भने, ‘त्यसपछि यस्ता शोधपत्र, अनुसन्धानमूलक लेखहरु भने अनलाइनबाट हेर्न मिल्ने गरी नराख्ने निर्णय भएको हो ।’

अन्य विश्वविद्यालयको पनि त्रिविले जाँच गरिदिन सक्ने 

त्रिविले खरिद गरेको यो एन्टी प्लाजारिजम सफ्टवेयर खरिद गर्न अन्य विश्वविद्यालयले पनि चासो देखाइरहेको पुस्तकालय प्रमुख श्रेष्ठ बताउँछन् । तर त्रिविले पनि विदेशीसँग किनेको र त्रिविको नीतिमा अन्य विश्वविद्यालयलाई दिने प्रावधान सम्झौतामा नभएकाले दिन नसकिने उनले बताए ।

अन्य विश्वविद्यालयले त्रिविमा आएर एन्टी प्लेगारिज्म जाँच पुष्टि गरेर सर्टिफिकेट लान पाउने सुविधा चाहिं दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?