+
+

त्रिविका उपकुलपति बरालको ‘त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १९:०५

७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा.केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक गरिएको छ ।

उपकुलपति बरालले त्रिवि उपकुलपति पदका भएको खुला प्रतिस्पर्धात्मक प्रस्तुती तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र’ त्रिविको वेबसाइटमा राखिएको हो ।

२३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिता; विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता; आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण; विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने; र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अबधारणा राखेका छन् ।

उपकुलपति बरालले त्रिविको समग्र उत्तीर्ण दर कम देखिएकोले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको उल्लेख गरेका छन् । उपकुलपति बरालका अनुसार उच्च शिक्षाको अवसर, लागत तुलनात्मक रुपमा छिमेकी राष्ट्रका उच्च शैक्षिक संस्थाहरूले दिने उच्च शिक्षाकोभन्दा बढी पर्न जाँदा विद्यार्थी र अभिभावकको रोजाई विदेशी शैक्षिक संस्थाहरू पर्ने गरेको छ । यसले नेपालको भुक्तानी संतुलनमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।

उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिबृद्धि र प्रभावकारिता विद्यार्थीहरूको कम उत्तिर्ण दर, विश्वविद्यालयमा शैक्षिक पात्रो नहुनु र समयमा परीक्षा र परीक्षाफल प्रकाशन नहुनु र तोकिएको समयमा शैक्षिक कार्यक्रम नसक्नुले विश्वविद्यालयको गुणस्तर खस्किएको छ भन्ने संकेत गर्ने उल्लेख गरेका छन् ।

। यसको साथसाथै उत्पादित जनशक्ति बेरोजगार हुनु, श्रम बजारको आवश्यक्ता अनुसार जनशक्ति उत्पादन नहुनु र उत्पादित जनशक्तिमा भएको कारिन्दा प्रवृत्तिले विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरू प्रभावकारी छैनन भन्ने कुराको संकेत गर्ने बताएका छन् । उनको भनाइ अनुसार त्यसैले अहिलेको आवश्यक्ता विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्ने र यसले संचालन गरेका शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु हो ।

विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्नको लागि प्रथमतः राम्रो शैक्षिक पृष्ठभूमी भएका शिक्षकहरू हुनुपर्ने, दोस्रो शिक्षकहरूमा प्राज्ञिकता र आफ्नो पेशा प्रति समर्पित हुनुपर्ने, तेस्रो स्तरीय विद्यार्थीहरूको इन्टेक पनि हुनुपर्दछ र यी विद्यार्थीहरूलाई शैक्षिक संस्थाहरूले धान्न (रिटेन) पनि सक्नु पर्ने उनको भनाइ छ।

विश्वविद्यालयको शैक्षिक कार्यक्रमलाई प्रभावकारी वनाउनको लागि राष्ट्रिय र अन्तरराष्ट्रिय श्रम बजारको आवश्यकता अनुसार आवधिक रुपमा पाठ्यक्रमलाई अद्यावधिक गर्नुको साथै विश्वविद्यालयको उत्पादनमा भएको ज्ञान र शिप र श्रमबजारको लागि आवश्यक ज्ञान र सीपको विचको अन्तरलाई अध्ययन गरी सोही अनुसार शैक्षिक कार्यक्रमहरू तर्जुमा गर्ने र भएका पाठ्यक्रमलाई अद्यावधिक गर्नुपर्ने जनाएका छन् ।

स्थानीय ज्ञान, शिप प्रविधिको विकास र हस्तान्तरण गर्ने, विदेशी विश्वविद्यालयहरूको सहकार्यमा विदेशी ज्ञान, शिप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने, अनुभवी दक्ष जनशक्तिको उपयोग गरी मौजुदा जनशिक्तिलाई प्रशिक्षण गरी दक्ष बनाउने, नेपाल सरकारको उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रम देशव्यापी रुपमा कार्यान्वयन गर्ने लगायतका अवसरहरु रहेको उपकुलपति बरालले उल्लेख गरेका छन् ।

त्रिवि सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले अहिले उपकुलपतिको व्यक्तिगत सोचपत्र भएपनि अब यसलाई परिमार्जन गरेर संस्थागत बनाउने तयारी भइरहेको बताए । उनले भने ‘अहिले यो भिसि सरको व्यक्तिगत सोचपत्र हो तर अब यसलाई संस्थागत बनाउने तयारी गरेका छौं । त्रिविको भिजन २०३० मा समावेश गरेर लाने तयारी भइरहेको छ ।

हेर्नुहोस् सोचपत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?