
१२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् ।
आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गरेका हुन् ।
शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले समयमा नतिजा निकाल्न नसक्नुको कारणबारे जिज्ञासा राखेका थिए । ‘त्रिविको अहिलेको स्थिति के हो ? सुधारको योजना के छ ? तत्काल समाधान र आइडिया पनि मन्त्रीज्यूले माग्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘नतिजा कति दिनमा सार्वजनिक हुन्छ ? अन्तर्राष्ट्रिय विद्यार्थी किन आएका छैनन् ? यसमा पनि मन्त्रीज्यूले समाधान माग्नु भएको छ ।’
छलफलमा सहभागी त्रिविका पदाधिकारीले पनि मन्त्री पुनले सुधारको योजना माग गरेको बताए । ‘त्रिविको डेटाबेस हुनुपर्यो । कुनमा कति विद्यार्थी छन् ? सय दिनमा नतिजा सार्वजनिक हुनुपर्यो । अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण गर्नुपर्यो भन्नुभएको छ । मुख्यत: त्रिविको सुधारको विषयमा छलफल भयो,’ छलफलमा सहभागी ती अधिकारीले भने ।
प्रतिक्रिया 4