+
+

नेपालका लागि सर्वाधिक खेल खेल्नेमा किरणले बराबरी गरे विराजको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:४०

१७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)ले नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जनको कीर्तिमान बराबरी गरेका छन् ।

बिहीबार भारत विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा खेल्दै किरणले विराजको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय टिममा छँदै टोलीमा पर्न छाडेपछि किरणले कप्तानी गर्दै आएका छन् । गत चैतमा भएको थ्री नेशन्स कप खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । त्यो बेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

सन् २००८ मा कम्बोडियासंग खेल्दै नेपालका लागि डेब्यु गरेका किरण १३ वर्षदेखि राष्ट्रिय टिममा खेल्दै आएका छन् । आइतबार नेपालले भारतसंग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ र उक्त खेल खेलेपछि किरणले सर्वाधिक खेल खेल्नेमा विराजलाई समेत पछि पार्नेछन् ।

नेपालको लागि डेब्यु खेलमै उनको चिउँडोमा ठूलो चोट लागेको थियो । त्यसपछि फेरि खेल्ने नखेल्ने निश्चित नभएको अवस्थामा पनि किरणले नेपालका लागि लगातार खेल्दै आएका छन् ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको बताए । ‘ डेब्यु खेलमा नै ज (चिउँडो) मा चोट लागेपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिएन । २००८ देखि २०२१ सम्मको यात्रा सजिलो थिएन । किरणले बुधबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए । ‘निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

किरणले भारतसंगको खेलपछि नेपालका लागि धेरै खेल खेल्ने खेलाडी बन्ने भएपछि खुशी लागेको बताए । ‘भारतविरुद्धको दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन गइरहेको छु, यसका लागि खुशी छु । धेरै गर्नु छ । इतिहास बन्दै गर्छ ।’

देशका लागि खेल्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दै किरणले सर्वाधिक खेल खेल्ने खेलाडी हुँदा झन् खुशी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?