+
+

१२ पूर्वउपकुलपतिले भने : वीपी प्रतिष्ठानको समस्या तत्काल समाधान गर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते २१:१२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनको फाइल तस्वीर ।

२१ भदौ, काठमाडौं । विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।

विभिन्न विश्वविद्यालयका १२ जना पूर्वउपकुलपतिले सोमबार विज्ञप्ति जारी गरी प्रतिष्ठानमा ८४ दिनसम्म भएको आन्दोलनले शैक्षिक कार्यक्रम र चिकित्सा सेवा अस्तव्यस्त भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।

‘प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समयसम्म अस्तब्यस्त रहँदा पनि आन्दोलनकारीहरूसँग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको छ । सरकारको यो उदासिनता प्रति हामी दुख व्यक्त गर्दछौं र अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गरी प्रतिष्ठानको शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुचारू गर्न माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानभित्र आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधारलगायतका विषय उठाएर निरन्तर आन्दोलन भइरहेको छ । तीन महिनासम्म पनि आन्दोलनकारीहरूको मागप्रति सरकार सम्बेदनशील नहुनु दुर्भाग्य भएको पूर्वउपकुलपतिहरुले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

आन्दोलनकारीहरूको जायज मागको अविलम्ब सम्बोधन होस्
२१ भाद्र, २०७८

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान गरिमामय ईतिहास बोकेको एउटा शैक्षिक संस्था हो । उक्त प्रतिष्ठानको शुद्धिकरणको माग राखी गरिरहेको आन्दोलनले आज ८४ दिन पूरा गरेको छ । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार र प्रधानमन्त्री र डा. गोविन्द के.सी.बीच भएको सम्झौता कार्यान्वयन आदि माग राखी भइरहेको आन्दोलन झन्डै तीन महिना पुग्न लाग्यो ।

यति लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागहरूप्रति सरकार सम्बेदनशील नहुनु अत्यन्त दुर्भाग्यको कुरा हो । यद्यपि आन्दोलनको दौरानमा छानबिन समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतिकरण र आन्दोलनको ५० सौ दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुदे सम्झौता आदि केही महत्वपूर्ण कामहरू भए पनि तिनिहरूको कार्यान्वयनमा भने सरकार पूर्णतया उदासिन भएको देखिन्छ ।

प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समय सम्म अस्तब्यस्त रहदा पनि आन्दोलनकारीहरूसग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको छ । सरकारको यो उदासिनता प्रति हामी दुख ब्यक्त गर्दछौ र अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गरी प्रतिष्ठानको शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुचारू गर्न माग गर्दछौ ।

विश्वविद्यालयहरूका पूर्व उपकुलपतिहरू

महेशकुमार उपाध्याय
केदारभक्त माथेमा
सुरेशराज शर्मा
कमलकृष्ण जोशी
नवीनप्रकाश जङ्ग शाह
तोरणबहादुर कार्की
अर्जुन कार्की
कैलाशनाथ प्याकुरेल
हिराबहादुर महर्जन
खगेन्द्र भट्टराई
जयराज अवस्थी
नरेश मान बज्राचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?