+
+

बुबा फिल्म क्षेत्र र मेरो लागि सुपरम्यान हुनुहुन्छ: सलोन बस्नेत

‘नेपाली फिल्मको अमिताभ बच्चन बन्ने सपना छ’

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ भदौ २२ गते १३:२२

जतिबेला निर्देशक शोभित बस्नेत १८ बर्षको उमेरमा थिए, त्यतिबेला नै उनको जीवनमा नयाँ खुशी छाएको थियो । सानो उमेरमा नै बिहे गरेका शोभितको घरमा पहिलो सन्तानको रुपमा छोरा सलोन बस्नेतको जन्म भयो । आफैलाई बल्ल वुझ्दै गरेका शोभितको काँधमा छोराप्रतिको जिम्मेवारी पनि बढेको थियो ।

सलोन बस्नेतको जन्म हुँदा शोभित र उनका पिता माटोको घरमा बस्थे । तर, शोभितले छोरा सलोनलाई निक्कै माया दिएर हुर्काए । सलोन बस्नेतको अध्ययनमा कुनै पनि संझौता गरेनन् । सलोनपछि शोभितको घरमा छोरीको आगमन भयो । दुबै सन्तानलाई शोभितले आफूले सक्दो खुशी दिएका थिए ।

शोभित बस्नेत सुटिङबाट समय निकालेर पनि सलोनको स्कुल पुग्थे । सलोनको अध्ययनको अवस्था वुझ्थे । छोरा सलोनले अभिभावक दिवसको दिनमा बुबा शोभितको अभाव कहिल्यै महशुश गर्नुपरेन । हरेक समय शोभित छोरालाई हौसला दिन पुगेका हुन्थे ।

सलोन भन्छन्–‘आफूले थुप्रै दुःख भोगेर पनि मेरो बुबाले मलाई र बहिनीलाई हुर्काउनुभएको छ । कहिलेकाही मैले स्कुलको फिस एक बर्षको एकैपटक तिरेको छु । सायद, बुबासँग मासिक शुल्क वुझाउनका लागि पैसा हुदैनथ्यो होला । तर, उहाँले कहिल्यै पनि हामीसँग अभावको कुरा गर्नुभएन ।’

सलोन ठूलो हुँदै गए । चलचित्र ‘नेपाली बाबु’मा पहिलो पटक बाल–कलाकारको रुपमा अभिनय गरेका सलोनलाई शोभितले हरेक दिन सुटिङ सेटमा पुर्याउथे । तर, ‘आफन्तदेखि हामी तिन भाईसम्म’को छायांकनमा भने शोभित सुटिङमा पुगेनन् । बरु, उनले छोरा सलोनलाई सस्कार सिकाए । आफू भन्दा सिनियर कलाकारलाई गर्नुपर्ने सम्मान सिकाएका थिए । सलोन संझन्छन्–‘मलाई बुबाले आत्मनिर्भर हुन सिकाउनुभएको छ । यही सिकाई आज पनि मैले मेरो जीवनमा लागू गरेको छु ।’

शोभित सलोनका पिता मात्र नभएर गुरु पनि हुन् । शोभितले नै संचालन गरेको डान्स कल्चर सेन्टरमा सलोनले नृत्य सिकेका थिए ।

मेरो बुबा नै प्रेरणाको श्रोत

सलोन आफ्ना पिता शोभित बस्नेत आफ्ना लागि गाइड, प्रेरणाको श्रोत र सबै कुरा भएको बताउँछन् । उनले भने–‘म जुन बाटोमा हिडेको छु, त्यो उहाँको प्रेरणा हो । मैले ‘होस्टेल’ चलचित्रमा काम गर्नु भन्दा अगाडि म उहाँसँगै चलचित्रको सेटमा हिड्थेँ । म उहाँको जीवनबाट निक्कै नै प्रभावित छु ।’

शोभितले आजसम्म सलोनलाई पिटेका छैनन् । सलोनको वुझाईमा, उनका पिताले उनलाई पुलपुल्याएर पालेका हुन् । भन्छन्–‘कहिलेकाही बुबा छायांकनका लागि केही समय घर बाहिर हुँदा मैले उहाँलाई खुबै मिस गर्थेँ । कतिपय अवस्थामा त उहाँ नभई नहुने अवस्था हुन्थ्यो ।’ तर, शोभित भन्दा धेरै चलचित्र छायांकनको कामले सलोन काठमाडौं बाहिर पुग्थे ।

गसिपलाई गम्भिर रुपमा लिन्थेँ

शोभित बस्नेत नेपाली चलचित्र क्षेत्रका गसिप मेकर समेत हुन् । उनका बिषयमा बजारमा दैनिकजसो गसिप आउने गर्थे । उनको बिषयमा आउने गसिपले छोरा सलोनलाई पनि निक्कै ठूलो असर गरेको थियो । जतिबेला सलोन १८ बर्षका थिएँ, सो समयमा बुबाको बिषयमा आउने गसिपलाई उनले गम्भिर रुपमा लिएका थिए ।

सलोनले सुनाए–‘मलाई पत्रिका, टीभीमा बुबाको बिषयमा आउने गसिप सत्य लाग्थ्यो । म १८ बर्षको उमेरमा पुग्दा उहाँको बिषयमा आउने गसिपले ठूलो असर गरेको थियो भन्ने लाग्छ । मैले बुबासँग यो बिषयमा कुरा पनि गरेँ । जब, उहाँसँग मेरो कुरा भयो, यसपछि भने मलाई गसिपले कहिले पनि असर गरेन । हाम्रो परिवार निक्कै नै खुशी छ ।’

मेरो पिता सुपरम्यान

सलोन आफ्ना पिता शोभित बस्नेत चलचित्र क्षेत्र र आफ्ना लागि ‘सुपरम्यान’ भएको बताउँछन् । शोभितले चलचित्र क्षेत्रका लागि दिएको योगदान कसैले पनि विर्सन नसक्ने उनको वुझाई छ । उनले भने–‘जब यो क्षेत्रमा चलचित्र नै आउँदैन भन्ने हल्ला हुन्थ्यो, मेरो बुबा चलचित्र लिएर बजारमा आउनुहुन्थ्यो । बुबासँगैका थुप्रै निर्देशकहरु अहिले यो क्षेत्रमा हुनुहुन्न । तर, उहाँ आज पनि यही क्षेत्रमा नै रमाइरहनुभएको छ । चलचित्रबाट जिन्दगीलाई राम्रोसँग पाल्न सकिन्छ भन्ने शिक्षा मैले उहाँबाट लिएको छु । म विदेश जानु परेको छैन । यही नै काम गरेर बाँच्न सकिन्छ भन्ने शिक्षा मैले उहाँबाट नै लिएको हुँ ।’

लभको बाहेक सबै कुरा शेयर

शोभित बस्नेत सलोनका लागि पिता मात्र नभएर साथी पनि हुन् । किनकी, उनले आफ्ना सुख र दुःखका हरेक क्षणहरु पितासँग शेयर गरेका छन् । सलोनले हाँस्दै भने–‘मैले प्रेम सम्बन्धको कुरा बाहेक अन्य सबै कुरा बुबासँग शेयर गरेको छु । प्रेमको कुरा त कसरी भन्नु र ?’

सलोन दुःखी हुँदा उनका पिताले उनलाई धेरै कुरा भनेर संझाएका छन् । कहिलेकाही कुनै काम गर्न सकिदैन कि भन्ने सोच आउँदा शोभितले सलोनलाई भन्ने गरेका छन्–‘हार मानिहाल्नु हुँदैन । तिमी जहाँ छौ, एकदमै राम्रो ठाउँमा छौं ।’
शोभित सलोनलाई कुनै पनि बिषयमा लामो सल्लाहा दिदैनन् । तर, छोटो जवाफ दिन्छन् जुन सलोनका लागि पूर्ण हुन्छ ।

अमिताभको स्थानमा पुग्ने सपना

बुबा शोभितले सलोनलाई यही क्षेत्रमा लामो समयसम्म हेर्न चाहेका छन् । सलोनले चलचित्र क्षेत्रमा एउटा राम्रो स्थान पनि बनाएका छन् । तर, यही क्षेत्रमा जीवनको अन्तिम क्षणसँग काम गरिरहने सपना उनको छ । उनले भने–‘नेपाली चलचित्र क्षेत्रमा अभिताभ बच्चन जस्तो फिगर बन्न सकेँ भने मेरो बुबाको सपना पुरा गरेको महशुश मैले गर्नेछु । म बुढो हुँदासम्म पनि मेरो बुबाले मलाई एउटा कलाकारको रुपमा नै देख्नुहुन्छ होला भन्ने लाग्छ ।’

बुबा शोभितको कुनै पनि बानीले सलोनलाई असर गरेको छैन । तर, सलोनको वुझाईमा शोभितले आफ्नो जीवन आफ्नै लागि बाँचेका छन् । उनी भन्छन्–‘मलाई बुबाको यो कुरा नै प्रेरणादायी लाग्छ । सानै उमेरमा बिहे भएपनि उहाँले आफ्नो जीवनलाई सधै आफै काम गरेर अगाडि बढाउनुभएको छ । अरु कसैले पनि उहाँका लागि केही गरिदिनुपरेको छैन । आफ्नै जीवनसँग रमाइरहनुभएको छ । उहाँको अनुहार हेर्दा नै उहाँ एकदमै सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’
आज बुबाको मुख हेर्ने दिनमा सलोनले शोभितलाई अंकमाल गर्दै शुभकामना दिए ।

उनी भन्छन्–‘हामी अहिले चलचित्र ‘डाँडाको वर पीपल’को छायांकनमा एकसाथ छौं । छायांकन सकिएपछि बाउ छोरा मिलेर चिल हान्नु पर्छ है भनेको छु ।’

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?