+
+

सत्तारुढ माओवादी निकट अखिल क्रान्तिकारीले दियो सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते ७:०४

२३ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै उनले भने, ‘एमसीसीका नाममा भइरहेको अमेरिकी हस्तक्षेप र जयसिंह धामी प्रकरणमा भएको भारतीय दादागिरीका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन सकेको छैन ।’

उनले भने, ‘राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसीसी पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आँधीबेहरीले देउवा सरकारलाई नै बढार्नेछ ।’

पछिल्लो चरणमा भारतीय हैकमवाद र अमेरिकी हस्तक्षेप बढ्न थालेको भन्दै बस्नेतले राष्ट्रियताको विषयमा खुट्टा नकमाउन सरकारलाई आग्रह गरे ।

एक अर्को प्रसंगमा बस्नेतले शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई ग्यारेन्टी नगरिए संविधान कार्यान्वयन नहुने बताए । बस्नेतले भने, ‘तीन तहको चुनाव भएर मात्र संविधान कार्यान्वयन हुँदैन ।’ संविधानमा लेखिए अनुसार कक्षा १२ सम्मको शिक्षा पूर्णरुपले निःशुल्क हुनुपर्ने बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?