+
+

तीनकुनेको पुलमा साढे ३ करोड खेर गयो, तीन वर्षअघि बन्नुपर्ने पुल बनाउन नयाँ ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १७:२४

२३ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल बनाउन नयाँ ठेक्का लाग्ने भएको छ । बन्दा बन्दै करिब चार वर्षदेखि अलपत्र परेको पुल बनाउन सडक विभाग अन्तरगतको काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाउन लागेको हो । यसका लागि बोलपत्र आह्वान भइसकेको छ ।

२१ करोडमा ठेक्का लागेको पुलमाकरिब साढे ३ करोड खर्च भएपछि निर्माणमा गम्भीर लापरवाही र ढिलाइ भएको ठहर गर्दै सरकारले काम रोकेको थियो । त्रुटि सच्याएर काम अघि बढाउन निर्देशन दिएपनि कम्पनीले अटेर गरेपछि २०७६ मंसिरमा पप्पुसँगको खरिद सम्झौता नै रद्द भएको थियो ।

काठमाडौंको तीनकुनेमास्थित दुईतर्फी १७० मिटर फराकिलो बागमती पुल बनाउन पारित भएको डिजाइन अनुसार निर्माण अघि नबढाएपछि सम्झौता भएको ५ वर्षपछि आयोजनाले ठेक्का तोडेको थियो ।

आयोजनाले गरेको सिफारिस अनुसार पप्पु कन्स्ट्रक्सन लाई सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ फागुनदेखि ३ वर्षका लागि कालोसूचीमा पनि राखेको छ ।

किन तोडियो ठेक्का ?

संसदको विकास समितिले ०७६ जेठ २ गते सो पुलको स्थलगत अवलोकन गरेर अध्ययन रिपोर्ट तयार गरेको थियो । समितिले गरेको अध्ययनमा पनि पुलको पाइल (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि रहेको देखिएको थियो । २९.५ मिटर गहिरो (लम्बाइ) का १६ वटा (बाह्र सय एमएम) पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल १६.५ मिटरको मात्र निर्माण भएको र दुई वटा पाइल भाँचिएको अध्ययन रिपोर्टले देखाएको थियो । समितिले निर्देशन अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई र समयमै निकास दिन नसक्ने सम्बन्धित निकायलाई समेत कारवाही गर्न निर्देशन दिएको थियो ।

निर्माणाधीन पुलको ३ वटा जगमा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइलको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दियो ।

तर, निर्देशनको अवज्ञा गर्दै पप्पु कन्स्ट्रक्सनले पुलको सब–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेपछि आयोजनाले भुक्तानी रोकेर ठेक्का तोडेको थियो । यसअघि टेकु र कालीमाटी जोड्ने विष्णुमति नदीमाथिको पुलमा पनि गुणस्तरहीन काम गरेको भन्दै रोक्न निर्देशन दिँदा दिँदै कम्पनीले स्लाब हालेको आरोप लागेको थियो । तयार भएको लामो समयसम्म पनि सो पुल सञ्चालनमा आउन सकेको छैन ।

साढे ३ वर्षभित्रै निर्माण सकिएर हस्तान्तरण भई सञ्चालनमा आइसक्नुपर्ने बाग्मतीमाथिको पुलको पनि भविष्य अन्योलमा परेपछि ठेक्का पनि तोडेर नयाँ ठेक्का लगाइएको काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए ।

‘पप्पुले तयार गरेको बाग्मती पुलको दायाँ किनारको उत्तरपट्टिको जग मात्रै काम लाग्ने अवस्था छ,’ उनले भने,‘नयाँ ठेकदारले बाँकी ३ वटा जग त निकालेर फाल्नैपर्छ, नयाँ ठेकदारले कसरी डिजाइन बनाउँछ, त्यसकै आधारमा काम अघि बढ्छ ।’

आयोजनाले पप्पुलाई सम्झौता तोड्दा भएको क्षतिपूर्तिबापात ५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भन्दै पत्र पनि काटेको छ । तर, सरकारी निणयको विरुद्धमा ठेकदार कम्पनी पप्पु कन्स्ट्रक्सन सर्बोच्च अदालतमा पुगेको छ ।

पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ गते सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी ०७१ पुस ४ गते काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग सम्झौता गरी यो आयोजना निर्माणको जिम्मा लिएको थियो । बाग्मतीको पुलभन्दा केही ममहिनाअघि मात्रै ठेक्का लागेको बिजुलीबजारको आर्क ब्रिज तयार भएर सञ्चालनमा आएको दुई वर्ष पुग्न लाग्दा बागमती पुलको जग पनि बन्न सकेको छैन ।

पप्पुको आफ्नै दाबी

पप्पुले भने आयोजनाले गरेको निर्णय न्यायसंगत नभएको बताएको छ । कम्पनीले सडक विभाग आफैंले गरेको निर्णय विपरीत पुलको जग भत्काउन निर्देशन दिएको बताउँदै आएको छ ।

पुलको ४ वटा जगका ६४ पाइलमध्ये एउटा पाइल निर्माणको क्रममा १६ मिटर ढलान गरिसकेपछि माटो भासिएकाले विभागसँग पिलरमा डेढ टन फलामे डण्डी प्रयोग गरी क्याप ढलान गर्ने सहमति भएको दावी कम्पनीको दावी छ । तर, पछि आयोजनाले जग भत्काउन आदेश दिएपछि काम गर्न नसकेको अवस्थामा अन्यायपूर्ण तरिकाले ठेक्का तोडेर कालोसूचीमा रँखन सिफारिस गरिएको निर्माण कम्पनीका एक कर्मचारीले दावी गरे ।

विभागले नक्सा नै ढिलो दिएको, जगमा पर्ने प्रहरी कार्यालय हटाउन समयमै पहल नगरेको, विद्युतको पोल र खानेपानीको पाइप सयममै नहटाइदिएको र भएको कामको भुक्तानी नदिएको दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?