+
+

एमालेलाई शान्त पारेपछि सबै ठीक हुन्छ : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १७:११

२७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख र सत्तारुढ दलहरुले पहल गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चीज ठीक हुने बताए । ‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो तर, हाम्रो हकमा किन भएन ? प्रश्न यो हो’ उनले भने, ‘हामी (एमाले) लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’

पार्टी विभाजित नहुँदै भदौ १ गते नेकपा एमालेले १४ सांसदलाई निष्कासनको कारबाही गरेको सूचना संसद सचिवालयमा दिएको थियो । उक्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको एमालेको आरोप छ ।

एमाले शान्त हुने र संसदको गतिरोध अन्त्य हुने उपाय के हो ? भन्ने पत्रकारको प्रश्नमा उपनेता नेम्वाङले एमालेले १४ जना सांसदलाई कारबाही गरेर पठाएको पत्रअनुसार सभामुखले सूचना टाँस गरेपछि शान्त हुने बताए । ‘हामीले जुन उजुरी दिएका छौं त्यो उजुरी अनुसार उहाँ (सभामुख) ले सूचना टाँसिदिए हुन्छ । त्यो सूचना टासेपछि एउटा आधार बन्छ कि भन्ने लाग्छ’ उनले भने ।

तर, एमालेले कारबाही गरेका १४ सांसद दल विभाजन अध्यादेश अनुसार गठन भएको नेकपा एकीकृत समाजवादीमा आवद्ध भइसकेका छन् । नयाँ दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएर संसदमा सत्तापक्षको लहरमा बस्दै आएको छ ।

नयाँ दल दर्ता भइसकेको अवस्थामा एमालेको पुरानो पत्रको आधारमा सभामुखले कारबाहीमा परेको सूचना टास्न मिल्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले मिल्ने जवाफ दिए ।

‘(सूचना टास्न) गर्न चाहिँ मिल्छ । कस्तो कस्तो अचम्मको काम त भइरहेको छ देशमा । यो त कानुन बमोजिमको काम हो । अब गर्ने नगर्ने उहाँ (सभामुख)को कुरा हो’ उपनेता नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?