+
+

अपहरणकारी महतलाई सरकारले दियो कैद माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:१३

५ असोज, काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाएका हुन् ।

सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । अपरहरण मुद्दामा कैद सजाय भोगिरहेका अमर टण्डनका मुख्य सहयोगी महत कम्तीमा १९ वटा अपहरणका घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

०६४ साल भदौदेखि क्रमशः शिव सरावगी, सुमित सेरचन, डा. आशुतोष, पवन अग्रवाल, अनित्य गुरुङ, उमेश गर्ग, दिलिप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका लगायतका व्यक्तिलाई टन्डन समूहले निशाना बनाएको प्रहरी रेकर्ड छ । ती अपहरणमा मुख्य सहयागीका रुपमा महतले काम गरेका थिए ।

समूहका नाइके टण्डन पक्राउ परेपछि महत र उदय सेट्टीले अपहरणको धन्दालाई निरन्तरता दिएका थिए । उनको समूहले कम्तीमा २ करोड ३९ लाख रुपैयाँ असूली गरेको प्रमाण प्रहरीसँग छ ।

उनीहरुले काठमाडौंमा अपहरित व्यक्तिलाई राख्न बौद्ध मैजुबहाल, मण्डिखाटार र रुपन्देहीको छपियामा घरहरु भाडामा लिएको देखिएको थियो । उनीहरुले कटुवा र ‘मेड इन चाइना’ लेखिएको पेस्तोल प्रयोग गर्ने गरेका थिए ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उदय सेट्टी, प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जनालाई २०६६ को पुस अन्तिममा पक्राउ गरेको थियो । त्यसपछि छण्डन समूह तहननहसन भएको थियो ।

हाल समूहका सदस्यहरुलाई छुट्न थालेपछि पुनः अपहरणको धन्दा मौलाउन सक्ने सुरक्षा अधिकृतहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले महतसँगै पक्राउ परेका विष्णु जिसीलाई पनि असल चालचलन देखाएको भन्दै कैद मिनाहा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?