+
+

गसिपबाट बच्न मिडियासँग तर्किन थालिन् समीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १२:१२

बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो, ‘सबै कलाकारको उपस्थिति हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’

कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर बाचा नै गर्न लगाइएको उदाहरण यसअघि छैन । कार्यक्रममा पुगेका पत्रकारहरुलाई गीतको बाहेक अन्य प्रश्न नगर्नका लागि आग्रह गर्न सकिन्छ । तर, निमन्त्रणामा नै बाहिरी प्रश्न गर्न नपाइने भनेर बाचा नै गर्न लगाइनु अचम्मजस्तै हो ।

यस्तो सन्देश पाएर पनि यो कार्यक्रममा सहभागी हुन धेरै मिडियाकर्मी अनामनगरको एक रेष्टुरेन्टमा पुगेका थिए । नेत्र भण्डारी र समीक्षा अधिकारीको स्वरमा समावेश गीत रिलिज तथा गायकको जन्मदिनको केक काट्ने कार्यक्रम राखिएको थियो । कार्यक्रममा गायिका समीक्षा अधिकारी पनि पुगिन् ।

रोचक कुरा त के थियो भने, आयोजकले पत्रकारलाई समीक्षा अधिकारी र नायक पल शाहको विषयमा पछिल्लो समय चलिरहेको गसिपको प्रश्न नसोध्न फेरि पनि आग्रह गर्‍यो । यसका लागि मिडियाकर्मी पनि तयार भएका थिए ।

गायिका समीक्षा अधिकारीले गीतको लागि बाँकी रहेको लिप्सिङको भिडियो सुट गरिन् । यो भिडियो सुट गरेपछि समीक्षा कार्यक्रम हलमा नै प्रवेश नगरी बाहिरिइन् ।

पत्रकारहरुले करिब दुई घन्टा पर्खिए । तर, समीक्षा सुटुक्क हिँडेपछि आयोजक पनि अलमलमा नै पर्‍यो । यस्तै, मोडल एलिसा राइले आफू १० मिनेटका लागि भए पनि आउने जानकारी दिएकी थिइन् । तर, उनी पनि कार्यक्रममा उपस्थित भइनन् । गायक नेत्र भण्डारीले समीक्षाले थाहा नै नदिई हिँडेको भन्दै दुःख व्यक्त गरे ।

यसबाट पनि पछिल्लो समयमा उदाएका केही कलाकार तथा गायक–गायिकाले मिडियाकर्मीको समयलाई कती हलुका रुपमा लिन्छन् भन्ने प्रष्ट हुन्छ । यतिमात्र होइन, उनीहरुले थोरै भएपनि व्यवसायिक धर्म देखाउन नसकेको स्पष्ट छ ।

गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडिया फेस गर्न डराइरहेकी छिन् । भलै, उनले यो कार्यक्रममा आफू उपस्थित भए पनि गीत रेकर्डिङका लागि समय दिएकाले चाँडै निस्कनु परेको भन्दै स्टाटस लेखेकी छिन् । तर, आयोजकले उनकै कारण गीत भन्दा बाहिरको प्रश्न सोध्न नपाइने वाचा नै मिडियाकर्मीलाई गराउनु परेको थियो ।

पल र समीक्षाको निकटताको विषयमा गसिप बजार केही समयदेखि तरंगित छ । यस्तो, समयमा समिक्षा यो कुराबाट भाग्न खोजेको कुरा त सजिलै बुझ्न सकिन्छ । समीक्षा यो गसिपबाट कहिलेसम्म भाग्ने हुन् ? के बजारमा आएको गसिपका विषयमा स्पष्ट जवाफ दिएर आफ्नो भनाइ सार्वजनिक गर्ने आँट समीक्षाले गर्लिन् ? होइन भने पत्रकारलाई दुई घन्टा कुराएर गायिका र मोडलकै कारण कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आउनु आफैंमा दुःखद कुरा हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?