+
+

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १३:४३
प्रतीकात्मक तस्वीर

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ ।

विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए । शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ ।

यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शाखा प्रमुख सुवेदीले बताए ।

यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको पनि सुवेदीले जानकारी दिए ।

ललितपुरमा आंशिक रुपमा खुले विद्यालय

ललितपुर महानगरपालिकामा आंशिक रुपमा विद्यालय खुलेका छन् । महानगरमा अभिभावक, विद्यार्थी र शिक्षकहरुको मिश्रित प्रतिक्रिया आएपछि विद्यालयलाई निर्णय गर्ने अधिकार दिइएको थियो ।

अहिले विद्यार्थी संख्या कम भएका विद्यालय खुलेको ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए । ‘हामीले मापदण्ड अनिवार्य पूरा गर्न र विद्यार्थी संख्या कम भएका र माथिल्लो कक्षाका विद्यार्थीलाई मात्रै विद्यालयमा बोलाउन सकिने भनेका छौं । त्यही अनुसार सीमित विद्यालयहरु खुलेका छन्,’ उनले भने ।

विद्यार्थी संख्या बढी भएको र कक्षा १२ को परीक्षाको कारणले अहिले सीमित विद्यालय मात्रै सञ्चालन भइरहेको एन प्याब्सन ललितपुरकी अध्यक्ष तारा थापाले जानकारी दिइन् । उनले भनिन्, ‘अहिले विद्यार्थी संख्या कम भएको विद्यालयमा माथिल्लो कक्षाका विद्यार्थीहरुलाई केही विद्यालयले भौतिक रुपमा पढाइरहनुभएको छ । अधिकांश खुलेका छैनन् ।’

भक्तपुर नगरपालिकाले अझै निर्णय गर्न सकेन 

भक्तपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालनबारे निर्णय गर्न सकेको छैन । नगरपालिकाले शिक्षक, अभिभावक, जनस्वास्थ्यविद्हरुसँग पटक–पटक छलफल गरे पनि निर्णयमा पुग्न नसकेको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले बताए । उनले भने, ‘हामीले सरोकारवाला निकायहरुसँग निरन्तर छलफल गरिरहेका छौं । तर अझै निर्णयमा भने पुग्न सकेका छैनौं ।’

अभिभावक तथा विद्यार्थीहरु भौतिक रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने बताए पनि जनस्वास्थ्यविद्हरुले भने जोखिम भएकाले हतार नगर्न सुझाव दिएपछि निर्णयमा पुग्न नसकेको कर्माचार्यले बताए । ‘अझै पनि जनस्वास्थ्यविद्हरुले भौतिक रुपमा विद्यालय सञ्चालन गर्न जोखिम भएकाले हतार नगर्न सुझाव दिइरहनुभएको छ । त्यसैले सम्भवतः दशैं अगाडि खौल्दैनौं होला ।’

विद्यालय खोल्ने नखोल्नेबारे केही दिनभित्रै निर्णय गर्ने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?