+
+

प्रदेशसभामा मुख्यमन्त्री राउत र लोसपा सांसदको जुहारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते २१:०४

२० असोज, जनकपुरधाम । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि तत्कालिन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर प्रदेश २ मा सरकार बनाए । पछि पार्टी एकता भएपछि जनता समाजवादी पार्टी बन्यो । गत जेठ महिनासम्म सरकार ठीक ढंगले चलदै थियो ।

उनीहरुको पार्टी एकीकरण एक बर्ष त टिकेन, सँगै प्रदेश सरकारबाट पनि पूर्व राजपाका मन्त्रीलाई हटाइयो । अहिले पूर्व राजपा समूहले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका छन् ।

पूर्व राजपा सरकारबाट हटेपछि यी दुबै दल पहिलो पटक प्रदेश सभामा देखिए सत्ता र प्रतिपक्षीको भूमिकामा । पार्टी फुटेकै कारण मुख्यमन्त्री राउतले विश्वासको मत लिन बुधबार प्रदेश सभाको बैठक आह्वान गरिएको थियो ।

यो बैठकमा सत्ता पक्षले बोलेको हरेक कुराको प्रतिकार विपक्षी बनेका लोसपा सांसदले गरे भने लोसपाले प्रतिकार गरेका शब्दको पुनः सत्ता पक्षबाट मुख्यमन्त्रीले गरे ।

प्रदेश सभामा अर्काे दृश्य पनि फेरिएको देखियो । सत्तामा रहेका जसपा मन्त्रीको विरोध गर्ने नेपाली कांग्रेस, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र सरकारको पक्षमा खुलेरै देखापरे ।

संघीयताको सवालमा आरोप–प्रत्यारोप

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राउतले पहिले सम्बोधन गरे । राउतले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको छापामारीलाई संघीयताविरुद्धको षड्यन्त्रको संज्ञा दिए । ‘अख्तियारको छापामारी संघीयता समाप्त गर्ने खेल हो’ मुख्यमन्त्री राउतले भने, ‘यो निन्दनीय काम हो, हामी सबैलाई घोर भत्र्सना गर्नुपर्दछ ।’

मुख्यमन्त्रीले बोलिसकेपछि तेस्रो नम्बरमा बोल्न आएका उनकै सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रहिसकेका जितेन्द्र सोनल । उनले मुख्यमन्त्रीले संघीयता सम्बन्धी राखेको धारणाको प्रतिकार गरे । उनले भने, ‘अख्तियारले छापा मार्दैमा संघीयता कहीं समाप्त हुन्छ ?’

जनताले बलिदानी दिएर ल्याएको संघीयता अख्तियारको छापामारीले केही हुन नसक्ने उनको भनाइ थियो । ‘संघीयता कुनै लौकाको फूल होइन, धेरैले बलिदानी दिएर आएको हो’ उनले भने, ‘त्यसैले केही असर गर्दैन ।’

अख्तियारको छापाबारे बहस

अख्तियारले छापामारी गरेर गल्ती गरेको मुख्यमन्त्रीको भनाइ थियो । ‘जे फाइल माग्दा म दिन तयार थिएँ, तर अख्तियारले एक्कासी छापामारी ग¥यो’ राउतले भने, ‘म आफैं सुशासनलाई मान्ने व्यक्ति हुँ ।’

अख्तियारले कागजात माग्न पत्र पठाएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई सोधेको तर अख्तियारले त्यस्तो कुनै पत्राचार समेत नगरेको पाइएको उनले बताए । ‘मलाई जानकारी गराएर अख्तियारको टोली आउँदा म आफैं आदरका साथ कागजात दिन्थे’ उनले भने, ‘तथापी अहिले पनि सम्मान नै गर्छु ।’

मुख्यमन्त्रीको यो भनाइको लोसपा संसदीय दलका नेता सोनलले पुरानो कुरालाई स्मरण गराए । ‘मलाई अझै याद छ समन्वय परिषद्को बैठकमा मुख्यमन्त्रीज्यूले अख्तियार प्रमुखलाई बोलाएर आफ्ना कार्यालयहरुमा छानबिन गर्न आग्रह नै गर्नुभएको थियो’ सोनलले भने, ‘अख्तियार प्रमुखलाई मेरो हरेक कार्यालयमा जानुस् । छानबिन गर्नुस् भन्नुभएको थियो ।’

एकातिर निमन्त्रणा गरेर बोलाउने पनि अनि उजुरीको आधारमा छापामारी गर्दा गलत गरेको भन्न नमिल्ने उनले बताए ।

बजेट र नीति तथा कार्यक्रममा बहस

मुख्यमन्त्री राउतले साइकल खरिद गर्न नीति तथा कार्यक्रम र बजेट पारित यहाँहरु (सांसद) ले नै गरिदिएका कारण खरीद गरी वितरण गरिएको बताए । उनले त्यो बजेट कर्मचारीले चलाउने र मुख्यमन्त्रीले नचलाउने गरेको बताए ।

मुख्यमन्त्रीको यो भनाइलाई प्रतिकार गरे लोसपाका सांसद उपेन्द्र महतोले । उनले भने, ‘हो, नीति तथा कार्यक्रम र बजेट हामीले पारित ग¥यौं । तर, भ्रष्टाचार गर्नका लागि होइन ।’

बैठक अवरुद्धको लाइभ नै गायव

लोसपाले प्रदेश सभा बैठकलाई अवरुद्ध गर्ने यसअघि नै बताएको थियो । पहिलो बैठकमा शुभकामना मन्तव्य सकिएपछि दोस्रो बैठक ३ः३० बजेसम्मका लागि सभामुख सरोज कुमार यादवले स्थगित गरेका थिए । पुनः बसेको बैठक लोसपा र नेकपा एमालेका सांसदले अवरोध गरेका थिए । तर, त्यो बैठकको प्रत्यक्ष प्रशारण नै प्रदेश सभा सचिवालयले गरेन ।

‘हामीले संसद अवरुद्ध ग¥यौं, त्यो प्रत्यक्ष प्रशारण नभएको जानकारी हामीलाई पनि आएको छ’ लोसपा सांसद परमेश्वर साहले भने, ‘यो राम्रो भएन ।’ सांसद साहका अनुसार बुधबारकै दोस्रो बैठक अवरुद्ध गरेको र तेस्रो बैठकले मुख्यमन्त्री विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?