+
+

सानिमा बैंकले घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते ११:१४

३१ असोज, काठमाडौं । सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९.५१ प्रतिशत तोकेको थियो ।

मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६.५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।

व्यक्तिगततर्फ ३ महिनादे्खि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको लागि ८.०१ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ । यसका लागि ग्रामिण भेगका शाखाहरुमा न्युनतम निक्षेप १० हजार, काठमाडौं उपत्यकाका बाहिरका सहरहरुमा ५० हजार र काठमाडौं उपत्यकाभित्र १ लाख रुपैयाँ हुनुपर्ने बैंकको शर्त छ ।

यसैगरी संस्थागततर्फ ३ महिना भन्दा अवधिको मुद्दति निक्षेपका लागि ८ दशमलव ५१ प्रतिशत ब्याजदर तोकिएको छ । बचत निक्षेपतर्फ भने अधिकांशको ४ प्रतिशत ब्याजदर तोकिएको छ ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता ) अभाव हुँदा ब्याजदरमा चाप परेको थियो । निक्षेपको ब्याजदर नै वाणिज्य बैंककै १० प्रतिशत भन्दा माथि नाघेको थियो । दशैंमा तरलताको अभाव अझ बढ्न सक्ने र ब्याजदर बढ्ने अनुमान गरिएको थियो ।

सानिमा बैंकको ब्याजदर सार्वजनिक पछि बैंकहरुको ब्याजदर घट्ने संकेत देखिएको छ । यद्यपि दशैं बिदा भर्खरै सकिएकाले अन्य बैंकहरुले ब्याजदर सार्वजनिक गर्न पाएका छैनन् । भोलि सोमबार अधिकांश जसो बैंकहरुले ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?