
५ कात्तिक, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।
शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो ।
बाढीबाट धान बालीमा भएको क्षतिको विवरण संकलन गरेर पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने तथा विपद् व्यवस्थापनमा सबै प्रशासनिक संयन्त्रको प्रयोग गर्न पनि माग गरिएको छ ।
अनेरास्ववियूले संकटका बेला सरकारलाई आफूहरु रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्न पनि आग्रह गरेको छ ।
मुख्यमन्त्री भट्टले सरकारले राहत तथा उद्दारको काम गरिरहेको बताउँदै अनेरास्ववियूले उठाएका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । तीनै तहका सरकारसँगको समन्वयका आधारमा पीडितलाई क्षतिपूर्ति दिइने उनले बताए ।
गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २२ जना बेपत्ता छन् ।
प्रतिक्रिया 4