+
+

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १९:२३

५ कात्तिक, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार माइतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानूनको धज्जी उडाएको बताए ।

उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राय गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हन थालेको बताए।

अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरुको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरुले बुझ्न सक्नुभएन, अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानूनको धज्जी उडेको छ। हामीलाई धेरै पुरानो युगमा फर्किएको जस्तो भएको छ, हामी व्यवहार र कार्यशैलीले ढुंगे युगतिर फर्किरहेका छौँ ।’

प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको वयवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकलेलाई कारबाही गर्नुपर्ने बताए ।

उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए ।

उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै सबै अपराधीलाई तीन दिन भित्र समातेर कारबाही गर्न माग गरे । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

‘कार्यालय प्रमुखमाथि जुन व्यवहार भयो, त्यो हिंस्रक घटना हो, सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्छ, त्यो घटनाको नायिकेलाई गिरफ्तार गर्नुपर्‍यो। उनले भने, ‘राजनीतिक दलका नेता सीके राउतले टेलिभिजनमै अपराध स्वीकारेपछि अब उनीसहित आपराधिक गतिविधिमा संलग्न सबैलाई तीन दिनभित्र पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

अध्यक्ष बन्जाडेले तीन दिन भित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी दिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए ।

तस्वीरहरु: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?