+
+

मंसिरभित्रै महाधिवेशन गर्ने अर्को कार्यतालिका ल्याउन देउवाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १८:११

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो ।

तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताए । निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो ।

सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् । र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र त्यही अनुरुप तपाईंहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ’ डा. महतले भने ।

निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।

छलफलका क्रममा वरिष्ठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ ।

त्यसपछि पौडेलले महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउन सभापति देउवालाई आग्रह गरेका छन् ।

‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नुप¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रीय कार्य समिति बैठक बोलाउनुपर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रीय कार्य समितिको बैठक बोलाइयोस् भनेर मैले माग गरेको छु’ वरिष्ठ नेता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?