+
+

फिरौती नदिएपछि इराकमा इस्लामिक स्टेटले गर्‍यो ११ गाउँलेको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १५:४४
फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । इराकमा इस्लामिक स्टेट (आईएसआईएस)को आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ ।

मंगलबार पूर्वी इराकस्थित दियाला प्रान्तको एक गाउँमा इस्लामिक स्टेटले गरेको आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै द एशोसिएट प्रेसले जनाएको छ ।

दियाला प्रान्तको अल हवाशा गाउँमा ‘निशस्त्र मानिस’लाई लक्षित गरी आक्रमण गरिएको संयुक्त सैन्य कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार आक्रमणमा इस्लामिक स्टेटले कैयौं सवारी साधन र सेमिअटोमेटिक बन्दुक प्रयोग गरेका थिए ।

आक्रमणपूर्व इस्लामिक स्टेटका लडाकूले दुईजना गाउँले अपहरण गरी फिरौती मागेको र फिरौती नदिएपछि गाउँमा हमला गरेका थिए ।

इराकी राष्ट्रपति बर्हाम सलिहले ट्विटमार्फत् इराकलाई ‘अस्थिर बनाउने घृणित प्रयास’ भन्दै आक्रमणको निन्दा गरेका छन् । इराकले आफ्नो सुरक्षा मजबुत बनाउनुपर्ने, सुरक्षा व्यवस्थामा देखिएका कमजोरी हटाउनुपर्ने र ‘आईसिलबाट उत्पन्न खतरा नजरअन्दाज’ गर्न नहुने सलिहको भनाइ छ ।

इस्लामिक स्टेटले आफ्नो शक्ति उत्कर्षमा हुँदा स्वघोषित ‘खलिफा’अन्तर्गत इराक र सिरियाको ठूलो भूभागमाथि नियन्त्रण जमाएको थियो ।

सन् २०१७ मा लगभग पराजित भएको इस्लामिक स्टेटद्वारा निशस्त्र नागरिक लक्षित आक्रमण बिरलै हुने गरेका छन् । तर अझै पनि कैयौं क्षेत्रमा ‘स्लिपर सेल’ (गोप्य संगठन) मार्फत् सक्रिय देखिन्छ ।

यसै वर्ष राष्ट्रसंघले प्रकाशित गरेको एक प्रतिवेदनमा इराक र सिरियामा झण्डै १० हजार इस्लामिक स्टेटका लडाकू रहेको उल्लेख छ । सो प्रतिवेदनअनुसार अझै पनि उसले सुरक्षा बल, पावर स्टेसन र अन्य पूर्वाधारलाई लक्षित गरी कारबाही गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?