+
+

नन्कुन्नी धोबीको मृत्युु र निर्मला कुर्मी बेपत्ताबारे छानबिन समितिले प्रतिवेदन बुझायो

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्युको घटनाबारे छानबिन गर्न गठित समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । सरकारले यस विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते २०:२९

१४ कात्तिक, काठमाडौँ । बाँकेका नन्कुन्नी धोबीको मृत्युु र निर्मला कुर्मी बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।

छानबिन प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने बताए । ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएकामा धन्यवाद,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने ।

समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर–२ नेवाजीकी नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख गरेको छ ।

जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको समितिले उल्लेख गरेको छ ।

छानबिन समितिले हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ र साविक परस्पुर गाउँ विकास समिति वडा नम्बर ९ निवासी निर्मला कुर्मी बेपत्ताको घटना चार बिघा १० कठ्ठा जग्गा हडप्ने नियतले भएको उल्लेख गरेको छ ।

श्रीमान महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि निर्मला दुई छोराहरूसँग बस्दै आएकी थिइन् । दुई छोराको २०६६ मंसिरमा १० दिनमा फरकमा स्वास्थ्यमा अचानक समस्या आएर उपचारका क्रममा मृत्यु भएपछि निर्मलाका श्रीमान महलु र जेठा छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले जिम्मा लिएपछि घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरकाले चर्को विरोध र धर्ना गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि बादशाहले विधिवत रूपमा जग्गाको लालपूर्जा जिल्ला प्रशासन कार्यालयमा बुझाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाइ अदालतमा मुद्दा हाली नेपालगञ्ज धम्बोजी बस्ने पार्वती विष्टका नाममा २०६९ भदौ ६ गते जग्गा नामसारी गराएको र त्यसपछि विष्टको नामबाट रत्ना थापाको नाममा सारिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यो घटनामा समितिले बादशाहसहित ८ जना प्रारम्भिक चरणमा दोषी देखिए पनि बादशाह बाहेक अरु फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिले निर्मला कुर्मीको मुद्दामा सम्पत्ति खाने, हडप्ने नियतले कीर्ते जालझेल आदि भएको एवं बाँके जिल्लामा जग्गा किनबेच, हक, भोग, नामसारीलगायतमा छानबिन गर्न सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गर्न सिफारिस गरेको छ ।

छानबिन समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?