+
+

प्रजातन्त्र दलहरुको बाँडफाँटमा परेको छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १६:५०

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र दलहरुको बाँडफाँटमा परेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन गर्दै उनले नेपालमा प्रजातन्त्र संस्कारको रुपमा विकास नभई दलहरुको स्वार्थमा परेको बताएका हुन् ।

‘डेमोक्रेसी कम्पनीको रुपमा विकसित भयो । प्रजातन्त्र सार्वजनिक सेवाको रुपमा होइन कि कम्पनीको रुपमा विकसित भएको छ । यो कल्चरको रुपमा विकसित हुनुपर्ने । संस्कारको रुपमा विकसित हुनुपर्ने । यो त जिन्दगीको दैनिक व्यवहारको रुपमा विकसित हुनुपर्ने । प्रजातन्त्र दलहरुको माझमा बाँडफाँटमा परेको प्रजातन्त्र छ’ उनले भने ।

दलहरुले जुनसुकै निर्णय गर्दा पनि मेरो भागमा के पर्छ र मलाई के फाइदा हुन्छ भनेर हेर्ने गरेको पनि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए ।

‘राष्ट्रलाई प्रजातन्त्रको लागि, जनजीविकाको लागि सरोकार पर्ने विषय आएछ भनेपनि दलले सोच्ने कुरा के भने मेरो भागमा के पर्छ ? …मलाई के हुन्छ ? …कदाचित त्यो कार्यान्वयन भएन, मेरो बाउको के जान्छ ? दुईवटा सिद्धान्त’ उनले भने, ‘दुईवटा सिद्धान्तलाई मुख्य क्राइटेरिया बनाएर निर्णय गर्ने संस्कार छ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको पनि बताए । ‘अहिले बलिया–बलिया दलहरु निस्केका छन् । र जनता तर्साउँदै हिँडेका छन् । दलहरु, नेताहरु जनता थर्काउने । र जनतामाथि अधिपत्य मेरो छ भन्ने’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने बताए । आर्थिक रुपमा सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने पनि उनको भनाइ छ ।

‘यो संविधान महंगो छ कार्यान्वयन गर्नलाई । ३१ वटा (मौलिक) हक छ । अरबौँ लाग्छ हरेक हकलाई यो संविधान बमोजिमको जनतालाई साच्चै दिने हो भने हामीले विकासको चरम उत्कर्षमा पुग्नुपर्नेछ । प्रशस्त राजस्व हामीले बचत गर्नुपर्ने छ र संविधान कार्यान्वयनमा लगाउनुपर्ने छ । ऋण लिएर संविधान कार्यान्वयन गर्न सक्छौँ ? सम्भव छ ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?