+
+

तिहारमा थरीथरीका रंगोली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १२:२५

१८ कात्तिक, काठमाडौं । हामीकहाँ कुनै पनि शुभ कार्य गर्नुअघि चामलको पीठोबाट स्वस्तिक चिन्ह वा यस्तै आकृति बनाउने चलन छ । यसले घरमा कुनै शुभ उत्सव भएको संकेत गर्छ । रंगोली एक त्यस्तै सांकेतिक आकृति हो । रंगोलीलाई धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक पनि मानिन्छ । कुनै पनि आध्यात्मिक प्रक्रियामा रंगोलीलाई महत्वपूर्ण मानिन्छ । त्यसैले हवन वा यज्ञमा रंगोली बनाइन्छ । घर–आँगनमा रंगोली बनाउँदा घर शुद्ध हुन्छ भन्ने विश्वास छ ।

रंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठ्ठी कलामा एक हो । यो अति प्राचीन लोक कला हो । प्राचीनकालमा विश्वास गरिन्थ्यो कि, घरमा कलात्मक चित्र, आकृति भए धन ऐश्वर्यले परिपूर्ण हुन्छ ।

रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले घर–आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ । यसको अर्को अर्थ के पनि हो भने हाम्रो शरीर नश्वर छ भन्ने जान्दाजान्दै पनि जीवनलाई रंगीन बनाउनुपर्छ भन्ने यसको सांकेतिक अर्थ छ । यो रचनात्मक अभिव्यक्तिको माध्यम समेत हो ।

अहिले हामीकहाँ तिहारको बेला रंगोली बनाउने चलन व्यापक बनेको छ । विगत केही वर्षयता तिहारको बेला घर–घरमा रंगोली बनाउने गरिएको छ । विगतमा शहरी क्षेत्रमा मात्र यस्तो चलन भएपनि अहिले गाउँघरमा पनि रंगोली अनिवार्यजस्तै हुन थालेको छ ।

त्यसो त तिहार झिलिमिली पर्व हो । रंगीन उत्सव हो । दियो, बत्तीको उज्यालो, देउसी–भैलोको मधुर धुन, सेलरोटीको सुगन्धसँगै घर–आँगनमा बनाइने रंगोलीले तिहारको रौनक थप्छ ।

रंगोली कस्तो हुनुपर्छ ?

तिहारको लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ । यसमा साधारण ज्यामितीय आकार हुन्छ । त्यसमा विभिन्न देवीदेवताको आकृति बनाइन्छ । रंगोलीका लागि सिन्दूर वा अन्य थुप्रै किसिमको रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।

रंगोली बनाउनुभन्दा अघिल्लो रात नै चामललाई भिन्नाभिन्नै रंगमा भिजाउने र त्यसपछि रंगीन चामलले रंगोली बनाउन सकिन्छ । चामल वा मैदाको पिठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ । रंगोलीलाई सयपत्री फूलले सजाउन सकिन्छ । त्यसको बीचमा वा कुनामा दियो बाल्न सकिन्छ ।

हिजोआज घरको ठाउँ अनुसार विभिन्न डिजाइनका रंगोली बनाउने गरिन्छ ।

परम्परागत रंगोली

परम्परागत रंगोली चामलको पिठो र सेता चकको पाउडरबाट बन्छ । यदि तपाईंसँग रंग छैन भने यसरी रंगोली बनाउन सक्नुहुन्छ । यो डिजाइन लाइन र डट्सद्वारा बनाइन्छ । यो एकदम सजिलो छ ।

अमूर्त रंगोली

यदि तपाईं यो दीपावलीमा आफ्ना पाहुनाहरुलाई खुशी पार्न चाहनुहुन्छ भने यस प्रकारको रंगोली बनाउनु उपयुक्त हुन्छ । यसमा चम्किलो रंगबाट अनौठो डिजाइन तयार गरिन्छ । एउठा ठूलो फूल र त्यसको वरिपरि चम्किलो रंगले जो कसैलाई आकर्षित गर्छ ।

ईश्वरको रंगोली

यसमा तपाईं आफ्नो रोजाइको देवीदेवताको तस्वीर उतार्न सक्नुहुन्छ । त्यसो त भगवान गणेशको चित्रको रंगोली बढी बनाउने गरिन्छ, तर तपाईं आफ्नो इच्छा अनुसार जुनसुकै देवीदेवताको चित्र पनि बनाउन सक्नुहुन्छ ।

सजिलो रंगोली

यो रंगोली निकै सजिलो र सरल हुन्छ । यदि तपाईसँग ठाउँको अभाव छ भने यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चक पाउडर वा रंगको मद्दतबाट हातले यो रंगोली बनाउन सकिन्छ ।

फूलबाट निर्मित रंगोली

यदि तपाईं रंगबाट रंगोली बनाउन सकिरहनुभएको छैन भने फूलको रंगोली पनि बनाउन सक्नुहुन्छ । बजारमा कैयौं रंगका फूलहरु भेटिन्छन्, जसबाट तपाईं सजिलैसँग प्याटर्न बनाउन सक्नुहुन्छ । अलग–अलग फूलबाट सुन्दर रंगोली बनाउन सकिन्छ ।

ज्यामितीय रंगोली

यो डिजाइन निकै आकर्षक हुन्छ । यसमा रेखा तथा ज्यामितीय डिजाइनबाट रंगोली बनाइन्छ । यसमा तपाईं दियोको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

मोती र पोतेबाट बनेको रंगोली

यदि तपाईं शानदार रंगोली बनाउन चाहनुहुन्छ भने मोती र पोतेको प्रयोग गर्नुहोस् । एउटा प्याट्रन बनाउनुस् र त्यसमा रंग भर्नुस् । त्यसपछि पोते, मोती र रंगबिरंगी स्टोन्सको प्रयोग गर्न सक्नुहुन्छ ।

रंगीन चामलबाट रंगोली

काँचो चामललाई रंगमा मिलाएर तपाईं यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चामललाई निकै शुभ मानिन्छ । त्यसैले तिहारमा यसको प्रयोगले शुभ लक्षण प्राप्त हुन्छ । यस्तो रंगोलीमा तपाईं चामलबाट गणेशको तस्वीर पनि बनाउन सक्नुहुन्छ ।

बोर्डर रंगोली

यदि तपाईंको घरमा ठाउँ साँघुरो छ भने यस्तो रंगोली बनाउन सक्नुहुन्छ । ढोकामा रंगबाट लाइन बनाएर तपाईं यसलाई सजाउन सक्नुहुन्छ । यसबाट घरमा तिहारको माहोल देखिन्छ । यसमा तपाईं दियो पनि राख्न सक्नुहुन्छ ।

आधी रंगोली

शहरतिर यस्तो रंगोली बनाउन सकिन्छ । यसले थोरै ठाउँ लिन्छ र यसको डिजाइनबाट भव्यताको महसुस पनि हुन्छ ।

मयूरको रंगोली

मयूरलाई हिन्दू धर्ममा अत्यन्त शुभ मानिन्छ । मयूर निकै सुन्दर पनि हुन्छ । दीपावलीमा मयूरको डिजाइन पनि निकै लोकप्रिय छ । चम्किलो रंग तथा ज्यामितीय डिजाइनबाट मयूरको डिजाइन बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?