+
+

सदाबहार तिहार गीत : चलचित्रका गीतको वर्चश्व

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक १८ गते १३:३८

१८ कात्तिक, काठमाडौं । तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि ।

जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर सर्जकहरुले थुप्रै गीतहरु रचेका/गाएका छन् । जब यी गीतहरु घन्किन थाल्छन्, तब सप्तरंगी पर्व तिहारको रंग अरु प्रगाढ बन्छ ।  तिहार शुरु नहुँदैदेखि केही तिहारका गीतहरु गुञ्जिन थाल्छन् । यहाँ यस्तै तिहारका सदाबहार गीतहरु प्रस्तुत गरिएको छ ।

तिहारै आयो लौ झिलिमिली…

चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो यो । शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्र २०५० सालमा प्रदर्शनमा आएको हो । यो गीत यादव खरेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । सार्वजनिक भएको २८ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्छ यो गीत । एक हिसाबले यो गीत तिहारको पर्याय नै बनेको छ ।

दियो बाली साँझको…

तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘चिनो’मा समावेश गरिएको यो गीतमा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर छ । गीतमा स्वर्गीय कलाकार शुभद्रा अधिकारी, केशव भट्टराईको शीर्ष भूमिका छ । यो चलचित्र पनि प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । हरेक वर्षको तिहारमा घन्किने गीतमध्ये यो पनि शीर्षस्थानमा पर्छ ।

निधारमा लर्काएर सप्तरंगी टीको…

यो गीत चलचित्र ‘विजय पराजय’मा समावेश छ । राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको सांस्कृतिक पक्षलाई जोडिएको छ । दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक वर्ष तिहारमा यो गीत घन्किने गर्छ ।

यसपालिको तिहारै रमाइलो…

आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनूर’मा समावेश गरिएको यो गीत पनि तिहारको बेला घन्किने गीतमध्येमा पर्छ । गीतमा सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत रुचाइनेमा पर्छ ।

पुरानामा तीन दशकभन्दा अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र चलचित्र ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । ‘अधरमा आज उनकै छ गीत’ गीतमा रत्नशमशेर थापाको शब्द, रञ्जित गजमेरको संगीत र मनिला सोताङको स्वर छ ।

यसैगरी अनिल संग्रौलाद्वारा निर्देशित चलचित्र ‘माइती’मा पनि तिहार सम्बन्धित गीत समावेश गरिएको छ । चलचित्रमा ‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’ बोलको गीत समावेश छ ।

चलचित्र ‘आफ्नो मान्छे’मा तीज र तिहार समेटेर ‘तीज र तिहार आउँदामा बहिनी’ बोलको गीत समावेश गरिएको छ भने चलचित्र ‘फिटकिरी’मा देउसिरे गीत समावेश छ । चलचित्र ‘पालेदाइ’मा ‘साइतको सप्तरंगी निधारमा खुल्न देऊ है’ बोलको तिहार गीत समावेश गरिएको छ ।

चलचित्र ‘परदेशी’को भैली गीत‍‍…

गायक एवं संगीतकार नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी’मा भैली गीत समावेश गरिएको छ । नारायण रायमाझीको संगीत रहेको गीतमा नारायण र टीका पुनको स्वर छ । कथाअनुसार चलचित्रमा यो भैली गीत समावेश गरिएको छ ।

यस्तै चलचित्र ‘बन्दी’मा पनि तिहारसम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ गीत समावेश गरिएको छ ।

अन्य तिहार गीत

दाइ त मेरो लाहुर जाने

‘दाइ त मेरो लाहुर जाने’ अर्को चर्चित दशैं–तिहार गीत हो । दैवज्ञराज न्यौपानेले लेखेको यो गीतमा युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको छ । गीतमा युक्त गुरुङले नै संगीत दिएका छन् । दाजु बहिनीको सम्बन्धसँगै लाहुरेको कथा गीतमा समेटिएको छ ।

वर्षमा दिनैमा लै लै…

सुगम पोखरेलको स्वरमा रहेको ‘वर्षमा दिनैमा लै लै…’ पछिल्लो समयमा रुचाइएको दशैं तिहार गीत हो । रवि श्रेष्ठले लेखेको यो गीतमा दशैं र तिहारलाई समेटिएको छ । गीतमा सुगम स्वयंले संगीत भरेका छन् । तीन वर्षअघि युट्युबमा अपलोड भएको यो गीतको भिडियोले १ करोड ८८ लाख बढी भ्यूज पाइसकेको छ ।

झिलिमिली रातमा…

‘झिलिमिली रातमा’ पछिल्लो समयमा तिहारको अर्को लोकप्रिय गीत हो । गीतमा अक्षता अधिकारी र नवाज अन्सारीको स्वर रहेको छ । सात वर्ष अगाडि सार्वजनिक भएको यो गीत नयाँ शैलीको फ्युजनमा तयार गरिएको छ । गीतको भिडियोले पनि राम्रो भ्यूज पाएको छ ।

भाइटीकामा भेटन आउँला…

राजु लामाको स्वर, शुक गुरुङको शब्द÷संगीत रहेको ‘भाइटीकामा भेटन आउँला…’ गीत तिहारमा धेरै घन्किने गीतमा पर्छ । २०५६ सालमा रेकर्डिङ गरिएको यो गीतले त्यसबेलादेखि नै राम्रो चर्चा कमाएको छ । गीतमा चेली र माइतीको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

सप्तरंगी टीका…

गत वर्ष सार्वजनिक तिहार विशेष गीत ‘सप्तरंगी टीका’ पनि रुचाइएको छ । विजय तामाङको शब्द, प्रकाश तामाङको संगीत र विशाल कल्ताङ, प्रकाश तामाङ, जितु लोप्चन र सुमिना लोको स्वर छ । गीतमा केही मात्रामा तामाङ सेलोको भाव समेत मिसाइएको छ ।

पैयुँ फुल्दा त्यो लेकलेक…

‘पैयुँ फुल्दा त्यो लेकलेक’ तिहारसँग जोडिएको विरहको कथामा बनेको लोकप्रिय गीत हो । गीतमा निलिमा पुनको स्वर तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको अभिनय रहेको छ । तिहार आउँदा घर फर्किन नपाएको दाजुलाई सम्झँदै एउटी दिदीले गरेको बिलौनालाई गीतमा समेटिएको छ ।

टीका माला…’

रमेश बी.जी.को शब्द, बीबी अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘टीका माला’ दुई वर्ष अगाडि सार्वजनिक तिहार गीत हो । शंकर बीसीको निर्देशनमा बनेको भिडियोमा प्रकाश सपूत र सरिता लामिछानेको अभिनय छ । दिदी र भाइबीचको सम्बन्धलाई तिहारसँग जोडेर मार्मिक रुपमा तयार पारिएको छ ।

यी बाहेक अन्य थुप्रै कलाकारका तिहार गीत पनि स्रोता/दर्शकले रुचाएका छन् ।

बलिउडमा पनि छन् तिहार गीत

बलिउडका फिल्मका गीतमा पनि चाडपर्वलाई समावेश गरिएको पाइन्छ । बलिउडका फिल्मका निर्देशकहरुले विभिन्न चाडपर्वलाई आकर्षक शैलीमा आफ्ना फिल्ममा चित्रण गर्दै आइरहेका छन् ।

आई है दिवाली सुनो जी घरवाली…

फिल्म ‘आम्दानी अठन्नी खर्चा रुपैयाँ’को यो गीत निकै कर्णप्रिय छ । यो गीतले तिहारको बेला भारतमा राम्रो चर्चा पाउँछ । नेपालमा पनि तिहारको बेला विभिन्न रेडियोहरुले यो गीत प्रसारण गरिरहेका हुन्छन् । तिहारका सुन्दर दृश्य समावेश गरिएको यो गीतको भिडियो पनि आकर्षक छ । मल्टिस्टारर फिल्ममा जुही चावल, गोविन्दा, तब्बू, जोनी लिवर आदि कलाकारले अभिनय गरेका छन् ।

ढोली तारो ढोल बाजे…

बलिउडको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ यो नृत्यपरक गीतमा सलमान खान तथा ऐश्वर्याले अभिनय तथा नृत्य गरेका छन् । तिहारको परिवेश समावेश गरिएको उक्त गीतमा कलाकारहरुले आकर्षक गरबा नृत्य गरेको देख्न सकिन्छ । कुनै बेला यो गीत निकै नै लोकप्रिय मानिन्थ्यो ।

दीप दिवाली के झुठे…

सन् १९७३ मा प्रदर्शन भएको फिल्म जुग्नूको यो गीतमा अभिनेता धर्मेन्द्रले बच्चाहरुसँग तिहार मनाइरहेको देख्न सकिन्छ । यो गीतमा धेरै प्रकारका पटाका तथा बत्तीको झिलिमिलीले गर्दा तिहारको वास्तविकता अनुभव गर्न सकिन्छ ।

पैरों मैं बन्धन है…

सन् २००० मा प्रदर्शन भएको फिल्म ‘मोहब्बतें’ को यो गीतले पनि निकै लोकप्रियता हासिल गरेको थियो । तिहारको अवसरमा अत्यन्त मन पराइने यो गीतमा फिल्मका मल्टिस्टार कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्दै तिहार मनाइरहेका छन् ।

डोला रे डोला…

शाहरुख खान, ऐश्वर्या राय र माधुरी दीक्षित अभिनित फिल्म ‘देवदास’को गीत ‘डोला रे डोला’लाई दुर्गा पूजामाथि चित्रण गरिएको छ । यद्यपि यो गीत तिहारमा पनि उत्तिकै मन पराइन्छ । हरेक तिहारको बेला सञ्चारमाध्यममा यो गीत प्रसारण भइरहन्छ । यो गीतमा ऐश्वर्या राय तथा माधुरी दीक्षितको ब्लकबस्टर जोडीको उत्कृष्ट नृत्य प्रस्तुति देख्न पाइन्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?