+
+

काठमाडौंका कुकुर !

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७८ कात्तिक २३ गते १५:५८

शीर्षक सुन्दा तपाइँको दिमागमा झट्ट काठमाडौंका सडकमा खान नपाएर लखतरान भएर हिंड्ने कुकुरतिर पुग्यो होला । त्यहाँभन्दा अलि पर गएर सोच्नुभयो भने शहरका करोडौंको महलमा बसेर लाखौंको गाडीमा हुइँकिने जर्मन शेफर्डदेखि जापानिज स्पिचमा गएर तपाइँको ध्यान अडियो होला ।

कतै काठमाडौंका कुकुर भनेको प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्ने तालिमप्राप्त कुकुरलाई भनिएको पो हो कि भन्ने पनि केहीलाई पर्‍यो होला । जे होस् काठमाडौंमा थरीथरीका कुकुर छन्, तीमध्ये काठमाडौंका वास्तविक कुकुर चाहिं कुन र को हुन् त ?

कुकुर साह्रै इमानदार प्राणी हो । तर हाम्रो सन्दर्भमा ‘कुकुर’ शब्द नराम्रो अर्थमा प्रयोग गरिन्छ । कसैलाई नराम्रो गाली गर्नुपर्‍यो भने ‘कुकुर नै रहेछ नि त्यो त’ सम्म भनिन्छ । कसैलाई कुकुर भनियो भने उसले आफूलाई इमानदार भनेको होला भन्ने सोच्दै सोच्दैन ।

मलाई नराम्रो गाली गर्‍यो भन्ने बुझिहाल्छ । आम मान्छे न कुकुरलाई राम्रो मान्छ न त कुकुर शब्दलाई नै राम्रो अर्थमा बुझ्छ । तिहारमा मान्छेले कुकुरलाई पूजा गरे पनि त्यो मनैदेखि नभएर लोकाचारका लागि पूजा गरेको देखिन्छ ।

तिहारमा त कुकुर नपालेको घरको मान्छेले पनि सडकतिर खान नपाएर घुमिरहेको कुकुरलाई समातेर पूजा गर्छ, लोकाचारका लागि । तर पूजा गरिसक्नासाथ त्यही आफैंले पूजा गरेको कुकुरलाई घिन मान्दै ‘पर भाग्’ भनेर झटारो हानिहाल्छ आजको मान्छे ।

यसरी पनि धर्म कमाइन्छ भन्ने मान्छे विशेषण पाएको प्राणीको बुझाइ छ । केही सम्भ्रान्त वर्गले पालेको कुकुर बाहेक कुनै कुकुरले पनि मानिसबाट राम्रो व्यवहार पाउँदैनन् । कुकुरले हेयपूर्ण व्यवहार खप्नुपर्ने मात्र होइन नराम्रो प्राणीको संज्ञा समेत पाएका हुन्छन् । के ‘कुकुर’ शब्द नराम्रो नै हो त ? हो भने किन त्यति इमानदार प्राणीले यस्तो संज्ञा पायो होला ? अनुत्तरित नै छ ।

तिहारमा गोवद्र्धन पूजाको दिन बेलुकीपख धोबीखोला किनारैकिनार ‘इभिनिङ वाक्’ गरेर घर फर्कंदै थिएँ । झमक्क साँझ पर्न लागेकोले अलि हतारमै थिएँ । फटाफट हिंड्दै थिएँ, पछाडिबाट ‘बाँ’ गरेको आवाज आयो । आवाजतिर त्यति वास्ता नगरी अगाडि तन्किएँ । झनै नजिक झैं फेरि त्यही ‘बाँ’ को आवाज दोहोरियो ।

फर्केर हेरें । एउटा बाच्छो (सानो बहर गोरु) मेरो पछि–पछि दौडँदै रहेछ । कहाँदेखि त्यसले मलाई पछ्याएको हो, थाहा पाइनँ । ऊ दोस्रो पटक कराएपछि मात्र मैले फर्केर हेर्दा देखें । म अडिएँ । बाच्छो पनि अडियो । उसले आफ्नो थुतुनु मसँग जोड्न ल्यायो ।

शायद ऊ उसको आमासम्म पुर्‍याइदिनका लागि मसँग याचना गर्दैथियो । तर उसकी आमा कहाँ छ ? यो शहरको अन्धकारमा मलाई थाहा थिएन । मैले त्यो बाच्छोलाई सुम्सुम्याइदिएँ । आनन्द मान्यो । केही खान मागे झैं गर्‍यो । तर सडकमा के खान दिनु ।

बाच्छोलाई मैले नियालेर हेरें । कुनै गाई पाल्नेले सडकमा ल्याएर अलपत्र छोडेको हो भनेर बुझ्न कुनै गाह्रो भएन । बाच्छी भए पाल्ने र बाँच्छो भए सडकमा लगेर फाल्ने अनि दूध एकलौटी गर्ने काठमाडौंका आधुनिक ग्वालाहरूको यस्तो हर्कतमा म यसअघिदेखि नै परिचित थिएँ ।

अब के गर्नु के ? किंकर्तव्यविमूढ भएँ म । नमीठो मान्दै म घरतिर अगाडि बढ्न खोजें । तर बाच्छोले मेरो पिछा गर्न छोडेन । सोचें, मेरो घर नजिक सानो घाँसे चउर छ, त्यहीं लगेर छोडिदिन्छु । घाँस त खान पाउँछ, केही दिन भए नि ! यस्तै सोच्दै म अगाडि लागें ।

बाच्छो मेरो पछि–पछि लाग्यो । म छिटो हिंड्छु बाच्छो नि छिटो हिंड्छ, म अलि गति घटाउँछु बाच्छो पनि गति घटाउँछ । अँध्यारोमा झण्डै एक किमि जति त्यसले मेरो पिछा गरिसकेको थियो । त्यही बेला एकैपटक दुई÷तीन वटा मोटरसाइकल बडेमानको भट्ट्ट् … आवाज निकाल्दै असीमित गतिमा आए ।

मोटरसाइकलको अजिव आवाज सुनेर त्यो बाच्छो आत्तियो । जुन दिशातिरबाट बाच्छो र म आउँदै थियौं, बाच्छो आत्तिएर उतैतिर दौड्यो । शायद ज्यान जोगाउन । मोटरसाइकल टाढा पुगिसकेपछि म बाच्छो खोज्दै अलि परसम्म गएँ । तर भेटिनँ । खै त्यो बाच्छो कुन गल्लीमा पस्यो पस्यो अँध्यारोमा । मन अमिलो भयो ।

खाना र सहारा खोज्न मेरो पछि लागेको त्यो बाच्छो ज्यान जोगाउने त्रासदीमा फस्यो । विचरा त्यसले कति सम्झ्यो होला आफ्नी आमालाई । मातृवात्सल्यले कति पीडा दिंदो हो उसकी आमालाई । तर बाच्छो सडकमा छोड्ने दयाविहीन मान्छेलाई यसको कुनै मतलब थिएन ।

तिहारको गोवद्र्धन पूजाको दिन मैले देखे–भोगेको यो घटना शहरको एक प्रतिनिधि घटना मात्र हो । टोलटोलका सडक–सडकमा यस्ता साना बाच्छाहरू जताततै देखिन्छन् । गाई पालेर दूध लुट्ने लुटेराहरूले बाच्छी भए फेरि ब्याएर दूध दिने लोभले पाल्ने र बाच्छो भए सडकमा लगेर फाल्ने कुरा सामान्य भएको छ ।

फालिएका यस्ता बाच्छाहरू केही दिन सडकमा घुम्छन् अनि खाना र पानी नपाएर सडकमै मर्छन् । कति बाच्छाहरूसँग गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना पनि पर्छन् । यता सडकमा बाच्छा मरिरहँदा ती बाच्छामाराहरू बाच्छाले खानुपर्ने दूध बेचेर आएको पैसा गनिरहेका हुन्छन् ।

आजको मान्छे पूजा गरिसक्नासाथ आफैंले पूजा गरेको कुकुरलाई घिन मान्दै ‘पर भाग्’ भनेर झटारो हानिहाल्छ । केही सम्भ्रान्त वर्गले पालेको कुकुर बाहेक कुनै कुकुरले पनि मानिसबाट राम्रो व्यवहार पाउँदैनन् ।

नगरपालिकाले सडकमा मरेको बाच्छो लगेर फाल्छ, तर सडकमा बाच्छा अलपत्र छोड्नेलाई कारबाही गर्दैन । ती बाच्छामाराहरू बाच्छा मारेकोमा कारबाहीमा पर्नुको सट्टा गाई पालेर आफूले धर्म गरेको भनेर समाजमा उल्टो भ्रम पो फैलाइरहेका हुन्छन् ।

काठमाडौं लगायत शहरहरूमा गाईका बाच्छाको यस्तो पाशविक हत्या गर्ने हत्याराहरू छाती फुलाएर हाम्रै वरिपरि घुमिरहेका छन् । हामी कतिले तिनैले बेचेको दूध किनेर खाइरहेका छौं । पापको भागबण्डामा हामी पनि सहभागी भएका छौं ।

बाच्छाको भाग दूध बेचेर आफू धनी बन्ने र आफूलाई पशुप्रेमी र गौमाताको सेवक भन्ने ढोंगीलाई समाजले बहिष्कार गर्नुपर्ने हो । तर समाज पनि टुलुटुलु हेर्छ । सरकारले त कारबाही गर्ने कुरै भएन, गाई पाल्ने र दूध उत्पादन गर्ने मिहिनेती किसान भनेर त्यस्ता बाच्छामाराहरूलाई उल्टो प्रोत्साहन र सहुलियत पो दिन्छ ।

अबोध बाच्छाको आत्मा र शरीर मारेर मानिसको आत्मा र शरीर पोसाउने÷पोस्ने गर्दा त्यो मानवको आत्माले कति शान्ति पाउला ? बाच्छा मारेको दूधले मान्छे कति स्वस्थ होलान् ? यस्तो दूधलाई शुद्ध मानेर धार्मिक र पैतृक कार्यमा प्रयोग गर्दा देवता र पितृ कति खुशी होलान् ? यदि स्वर्ग वा नर्क भन्ने कुरा साँच्चै छ भने के ती गाई पाल्ने र बाच्छा मार्नेहरू स्वर्ग जालान् ?

काठमाडौंका घरघर र टोलटोलले यस्ता बाच्छामाराहरूको दूध नकिनेर बहिष्कार अभियान चलाउनुपर्ने हो । तर कसले गर्ने बहिष्कार ? कति ठाउँ गर्ने ? तिनले दूध एकठाउँमा पुर्‍याउने भए पो । ती बाच्छामाराले दूध घरमा पुर्‍याउँछन्, डेरीमा पुर्‍याउँछन्, होटलमा पुर्‍याउँछन्, मिठाई पसल पुर्‍याउँछन्, मन्दिरमा पुर्‍याउँछन् ।

एक ठाउँबाट अर्को ठाउँ, त्यहाँबाट अर्को ठाउँ । यस्तो दूध कुनै न कुनै परिकार (दही, मोही, घिउ, मिठाई, पनिर लगायत दुग्धजन्य पदार्थ) को रूपमा अधिकांश उपभोक्ताकोमा पुग्छ । यस्तो अपराध कर्मबाट निस्केको खाद्य पदार्थ कति ठाउँ बहिष्कार गर्ने ? उफ् ! अपराध मात्र होइन महाअपराधको भागबण्डा बजारभरि गरिरहेका छन्, बाच्छामारा अपराधीहरूले ।

हामी कुकुरको प्रसंगमा थियौं । फेरि अब प्रसंग कुकुरकै । प्रश्न फेरि उही । कुकुर जस्ता इमानदार प्राणीलाई किन घृणा गरेको होला ? यदि ‘कुकुर’ शब्द घृणायुक्त नै हो भने यी बाच्छामाराहरूलाई कुकुरको संज्ञा दिए हुँदैन र ? बाच्छा मारेर दूध चोर्ने यस्ता कुकुरहरूको भण्डाफोर किन नगर्ने ? त्यसैले आउनुस्, सडकका कुकुरहरूलाई माया र सम्मान गरौं, जसले हाम्रो केही बिगार्दैन ।

बरु घरघरमा लगेर एक–एक वटा कुकुर पाल्नुभयो भने त्यसले तपाइँको घरको रक्षा गर्छ । घर लगेर पाल्न नसके पनि ती सडकका निर्दोष कुकुरहरूलाई माया गरौं । अनि यी बाच्छामारा कुकुरहरूलाई चाहिं घृणा गरौं ।

घरघरमा गाईको दूध बेच्न ल्याउनेको दूध किन्नु अगाडि तिनले बाच्छा मारेको छ÷छैन प्रश्न गरौं । बाच्छा मारेर त्यही बाच्छाको दूध बेचेर महल ठड्याएका वास्तविक कुकुरहरूलाई समाजबाट बहिष्कार र घृणा गरौं । नगरपालिकाले गाई पाल्नेले बाच्छा पाल्नै पर्ने नियम बनाऊँ ।

बाच्छा (गोरु) सडकमा छोड्ने र तिहारमा गोरु पूजा गरिटोपल्ने, अनि कुकुर तिहारमा कुकुर पूजा गर्ने तर पूजा सक्दा नसक्दै कुकुरलाई झटारो हान्ने ती बाच्छामारा वास्तविक कुकुरहरूलाई आजैबाट बहिष्कार गरौं ।

(लेखक राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?