
२४ कात्तिक, काठमाडौं । म्यानमारमा हिरासतमा रहेका एक अमेरिकी पत्रकारमाथि आतंकवाद र राजद्रोहको अभियोग लगाइएको छ ।
अमेरिकी पत्रकार डानी फेन्स्टरमाथि आतंकवाद र राजद्रोहको अभियोग लगाइएको हो । अभियोग पुष्टि भएमा फेन्स्टरलाई काराबासको सजाय हुने उनका वकिलले बताएका छन् ।
बुधबार फेन्स्टरका वकिल थान जो आङले म्यानमारको प्रतिआतंकवाद ऐन र मुलुकी अपराध संहिताबमोजिम उनीमाथि २ वटा नयाँ अभियोग लगाइएको बताएका हुन् ।
म्यानमारको प्रतिआतंकवाद ऐनअनुसार आतंकवादी समूहसँगको सम्बन्धलाई अपराध मानिन्छ र ३ देखि ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । त्यस्तै, मुलुकी अपराध संहितामा राजद्रोहसम्बन्धी अपराध गरेको ठहर भए ७ देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
यङ्गुनस्थित अनलाइन पत्रिका ‘फ्रन्टिअर म्यानमार’का प्रबन्ध सम्पादक समेत रहेका फेन्स्टरलाई मे महिनामा पक्राउ गरिएको थियो ।
उनीमाथि सेनाविरुद्ध मानिसलाई उक्साएको, गैरकानुनी संगठन बनाएको र आप्रवासन कानुन उल्लंघन गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
प्रतिक्रिया 4