+
+

कानुन व्यवसायीहरुको आजको योजना– प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ७:५५

२६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् ।

कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा धर्ना बस्ने भएका छन् । तर सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।

कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको खबर सार्वजनिक भएपछि नेपाल बारले आन्दोलन थालेको थियो । आन्दोलनको क्रमअन्तर्गत नै कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले पनि मुद्दाको सुनुवाइ गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?