+
+

पौडेललाई नेताहरुको सुझाव : न्यायालयबारे समन्वय समितिमा छलफल गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १६:३१

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले न्यायालयमा देखिएको विवादबारे सत्तारुढ दलका शीर्ष नेता समिलित समन्वय समितिमा छलफल गर्न सुझाएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले न्यायालयमा देखिएको संकटबारे दलहरु र सरकार मौन रहन नहुनेमा जोड दिएका हुन् । शुक्रबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले न्यायालयको विषयमा समितिमा छलफल गर्न आग्रह गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

सत्तारुढ दलहरुे हालै मात्र ११ सदस्यीय समन्वय समिति बनाएका छन्, आलोपालो नेतृत्व गर्ने सहमति अनुसार पहिलो दुई महिना कांग्रेस नेता पौडेल संयोजक छन् ।

‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका बीचमा जुन सन्तुलन र नियन्त्रण हुनुपर्ने हो, त्यसमा समस्या देखिएको छ । तर शक्तिपृथकीकरणको सिद्धान्तविपरीत यी निकायहरुबीच एकआपसमा सौदावाजीको कुरा पनि सुनिएको छ,’ नेता केसीले भने, ‘न्यायको रक्षक र संविधानको संरक्षक सर्वाेच्च अदालतका प्रधानन्यायाधीश एकातिर, न्यायाधीश र नेपाल बार एशोसिएसन अर्कैतिर भएको जुन स्थिति छ, त्यसको निराकरणका लागि दल र सरकार मौन रहनुहुँदैन । हामीले समन्वय समितिमा छलफल गर्न आग्रह गरेका छौं ।’

वरिष्ठ नेता पौडेलले आइतबार बस्ने पार्टी केन्द्रीय समिति बैठकका एजेण्डाहरुबारे साझा धारणा तय गर्न आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका थिए । बैठकमा महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्र प्रसाद बडु, कमला पन्त, डा. चन्द्र भण्डारी, डा. शेखर कोइराला, गगनकुमार थापा, धनराज गुरुङ र सरिता प्रसाईं सहभागी थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंह भने गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?