+
+

पोल्याण्ड र बेलारुसको सीमामा आप्रवासीको बेहाल

सुनिल बराल सुनिल बराल
२०७८ कात्तिक ३० गते १८:५५
Photo courtesy of Nidal Ibrahim

३० कात्तिक, काठमाडौं । केही समयदेखि पोल्याण्ड र बेलारुसको सिमानामा आप्रवासी संकट चर्किँदै गएको छ ।

आप्रवासी संकटले मानवीय संकट निम्त्याउने अवस्था आएपछि युरोपेली युनियनले बेलारुसमाथि थप प्रतिबन्ध लगाउने भएको छ । यसअघि जुनमा बेलारुसी जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध लगाइएको थियो ।

युरोपेली युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले जोखिममा रहेका आप्रवासीहरूलाई चर्किँदै गएको ‘हाइब्रिड वार’मा शोषण गरिएको भन्दै बेलारुसमाथि थप प्रतिबन्ध लगाउने बताए ।

युनियनले बेलारुसमाथि पोल्याण्डसहित अन्य ईयू सदस्य राष्ट्रमा हजारौं आप्रवासी पठाउन खोजेर मानवीय संकट सिर्जना गर्न खोजेको आरोप लगाइरहेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले आप्रवासीलाई युरोपेली राष्ट्रमा सजिलै प्रवेश गर्न सकिने बाचा गरेको भन्दै युरोपेली अधिकारीहरू उनीप्रति रुष्ट बन्न पुगेका छन् । यही कारण, युरोपेली युनियनले पछिल्लो कदम चाल्ने तयारी गरेको हो ।

सोमबार पोल्याण्डका सुरक्षाकर्मीले हजारौं आप्रवासीलाई सीमा नाकामा रोकेका छन् । सिमानामा बीबीसीले खिचेको एक भिडियोमा काँडेतार अगाडिको सडकमा सुरक्षाकर्मी र आप्रवासी तनावपूर्ण अवस्थामा आमनेसामने रहेको देख्न सकिन्छ ।

समाचार अनुसार कुजनिका सीमा नाकामा रहेका अस्थायी शिविरबाट आएका ती आप्रवासीहरू पोल्याण्ड र बेलारुसका सुरक्षा गार्डमाझ फस्न पुगेका छन् । उनीहरू न पोल्याण्ड छिर्न सक्ने न पुन: बेलारुस फर्किन सक्ने अवस्थामा रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

भिडियोमा सिमानामा अलपत्र परेका र पोल्याण्ड छिर्ने आश गरेका आप्रवासीमध्येकी एक बालिकाले हाँस्दै ‘गुड बाइ’ भनेकी छन् । त्यस्तै एक पुरुषले पोल्याण्डका सशस्त्र गार्डसमक्ष ‘यी सबै केटाकेटीहरू दूध र डाइपरका लागि रोइरहेको’ बताएका छन् ।

‘हामीसँग केही कुरा छैन, कृपया आएर यिनीहरूलाई बचाउनुहोस्’, बेलारुसतर्फ रहेको काँडे तारबाट ती पुरुषले सुरक्षा गार्डसमक्ष गुहारे ।

अगस्टदेखि पोल्याण्डसँगको पश्चिमी सिमानामा हजारौं पुरुष, महिला र बालबालिका जम्मा भएका हुन् । उनीहरूमध्ये अधिकांश इराक, सिरिया र यमनबाट आएका शरणार्थी छन् । तर युरोपमा छिरेर राम्रो जीवन गुजार्ने सपना बोकेका उनीहरू भोक, तीर्खा र कठ्याङ्ग्रिँदो चिसोबीच सीमामा अलपत्र परेका छन् ।

‘कृपया हामीलाई बचाउनुस्’

चिसो मौसम र खानापानीको अभाव झेलिरहेका आप्रवासीले पोल्याण्ड र बेलारुसको सीमावर्ती जंगलमा जीवन-मरणको अवस्था भोगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

खराब अवस्थाका कारण हालसम्म ९ जना आप्रवासीले ज्यान गुमाइसकेका छन् । शनिबार बेलारुससँग सीमा जोडिएको जंगलमा एक जना सिरियाली युवा मृत फेला परेको पोल्याण्डको प्रहरीले बताएको थियो ।

यसरी सिमानामा अलपत्र पर्नेमा ३७ वर्षीय सिरियाली निदल इब्राहिम पनि छन् । उनले अलजजिरासँग कुरा गर्दै आप्रवासीलाई बचाउन अनुरोध गरे ।

‘जंगलमा बस्ने ठाउँ छैन । मेरा साथीका चारजना सन्तान हामीसँगै छन् तर उनीहरू बाँचिरहेको अवस्था वर्णन गर्न सक्दिनँ’, इब्राहिमले भने, ‘उनीहरू भोकै छन् र सुत्न सकिरहेका छैनन् । हामीमाथि कसैले दया देखाएन भने मर्नेछौं ।’

सिरियामा युद्ध शुरु हुनुपूर्व इब्राहिमले विद्यलायमा पढाउँथे । युद्धमा आफ्ना केही आफन्त र सम्पत्ति गुमाएपछि उनी श्रीमती र ३ सन्तानसहित टर्की गएका थिए । टर्कीमा कमाउन नसकेपछि उनले लिबिया हुँदै युरोप छिर्ने सोच बनाए । तर लिबियामा सशस्त्र विद्रोही सक्रिय भएका कारण जान सकेनन् ।

त्यसपछि बेलारुसबाट युरोप छिर्ने कुरा सुनेका इब्राहिमले श्रीमती र छोराछोरीलाई टर्कीमा छोडेर बेलारुस पुगे । अनलाइन अफिसमार्फत् ८ सय डलरमा भिडा र प्लेन टिकेट किनेर बेलारुस पुगेपछि आफ्नो ‘ट्राजेडी’ शुरु भएको उनले सुनाए ।

‘जब कारमा चढेर बेलारुस आएँ तब मेरो दुखान्त शुरु भयो’, उनले भने, ‘म अक्टोबर ५ मा यहाँ आएको थिएँ ।’ ‘सीमामा भोक, तिर्खा र चिसोले मानिसहरू मरिरहेको देखेँ तर मैले केही गर्न सकिनँ’, इब्राहिमले थपे, ‘हाल मैले मृत्युबाट भाग्ने प्रयास गरिरहेको छु ।’

श्रीमतीसँगै टर्कीमा रहेका ३ सन्तानका कारण आफू जीवित रहेको पनि इब्राहिमले सुनाए । ‘टर्कीमा मेरी श्रीमतीसँगै बस्ने ३ सन्तानका कारण मात्रै म जीवित छु’, उनले भने, ‘उनीहरूका लागि भए पनि म बाँच्नुपर्छ । उनीहरूलाई मैले धेरै माया गर्छु र धेरै याद आउँछ ।’

चिसो र वर्षाले प्राय: सुत्न नसकेको र सुतेको बेला सुरक्षित स्थानमा श्रीमती तथा छोराछोरी बसेको सपना देख्ने गरेको पनि उनले बताए ।

‘चिसो र वर्षाका कारण प्राय: सुत्न सक्दिनँ । तर जब म सुत्छु तब मेरी श्रीमती र छोराछोरीको सपना देख्छु, हामीहरू सुरक्षित स्थानमा सँगै बसेको कुरा देख्छु’, इब्राहिमले भने, ‘मैले आफ्ना छोराछोरी स्कुल गएको सपना देख्छु तर म कुनै पनि बेला मर्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?