+
+

संकटा र हिमालयन शेर्पाबीच १-१ को बराबरी

दुई प्रशिक्षकको डेब्यु खेलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते १६:१७

४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए ।

दशरथ रंगशालमा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दोस्रो हाफको सुरुवाती १९ मिनेटभित्रै दुई गोल भयो । ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । सुवास गुरुङको प्रहार हिमालयन शेर्पाका गोलकिपर दिप कार्कीले पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपछि रुचालले गोल गरेका हुन् ।

तर त्यो अग्रता लामो समय टिकेन । ६४ औं मिनेटमा हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले बराबरी गोल फर्काए । जीवन गुरुङको लामो क्रस संकटाका डिफेन्सले क्लियर गर्न नसकेपछि त्रिदेवले सिक्ड यार्ड बाहिरबाट गोल गरे ।

८३ औं मिनेटमा संकटाले अग्रता लिने मौका गुमायो । गणेश हमालको प्रहार डिफ्लेक्ट हुँदै बारमा लागेर फर्कियो । त्यसैमा प्राप्त बलमा लक्षमण रुचालको हेडर पोस्ट नजिकैबाट बाहिरियो । इन्जुरी टाइममा संकटाका रोमन लिम्बुको फ्रिकिक हिमालयन शेर्पाका गोलकिपर दिप कार्कीले टप कर्नरमा पन्च गर्दै बचाएका थिए ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले प्रशिक्षकको रुपमा पहिलो भएकोले नयाँ शैलीमा खेल्न लागेको र प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले सबै खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै नयाँ र पुराना खेलाडीको मिक्स अफ रहेकोले टिममा एडप्ट हुन केही समय लाग्ने बताए ।

यस्तै हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले दुवै टिमले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले सानो गल्तीले गर्दा गोल खानुपरेको बताए ।

दुई प्रशिक्षकको डेब्यु

खेलमा संकटा र हिमालयन शेर्पा दुवै टिमका प्रशिक्षकले ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरे । संकटाका विष्णु गुरुङ र हिमालयन शेर्पाका युगल किशोर राई दुवै एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

गुरुङले खेलाडी जीवनमा संकटाबाट पनि लिग खेलेका थिए । पूर्व क्लबबाटै उनले लिगमा प्रशिक्षकका रुपमा पनि डेब्यु गरे । उनले थ्री स्टारबाट पनि लिग खेलेका थिए । यस्तै पोखरामा भएको राष्ट्रिय फुटसल लिगमा उनै प्रशिक्षणमा स्पोर्ट्स क्यासल च्याम्पियन बनेको थियो ।

यसैगरी युगल किशोर राईले गत बैशाखमा भएको नेपाल सुपर लिगमा धनगढीको प्रशिक्षण सम्हालेका थिए । राष्ट्रिय टिमबाट दुई खेल समेत खेलेका युगलले थ्रीस्टार क्लब, एनआरटी र मनाङ मर्स्याङ्दीबाट लिग खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?