+
+

ताइवानसँग नजिकिएको भन्दै लिथुआनियासँग चीन रुष्ट, कूटनीतिक सम्बन्ध घटुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १४:५१

५ मंसिर, काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको छ ।

राजधानी भिलनिअसमा ताइवानको अनौपचारिक कूटनीतिक नियोग खोल्न दिएपछि लिथुआनियासँग चीन रुष्ट बनेको हो । उक्त कदमपछि रुष्ट बनेको चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्धलाई समेत घटुवा गरेको छ।

आइतबार चीनको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिथुआनियासँगको सम्बन्धलाई दूतावासको हैसियतबाट घटुवा गर्दै ‘चार्ज डि अफेयर्स’ अर्थात् सहायक स्तरमा झारेको जानकारी गराएको हो ।

लिथुआनियाले ताइवानलाई आफ्नो राजधानीमा प्रतिनिधि नियोग खोल्न दिएर गलत अन्तर्राष्ट्रिय नजीर बसालेको समेत विज्ञप्तिम उल्लेख गरिएको छ । देशमन्त्रालयको विज्ञप्तिमा लिथुआनियामाथि एक चीन नीति र द्धपक्षीय सम्बन्धमा तटस्थताको सिद्धान्तलाई अवमूल्यन गरेको आरोप पनि लगाइएको छ ।

दुईदिनअघि चीनले ताइवानसँग नजिकिएको लिथुआनियालाई चेतावनी दिँदै भनेको थियो, ‘चीनले लिने आवश्यक कदम पर्खेर बस्नुहोला ।’ चीनले उक्त चेतावनीलगत्तै द्धपक्षीय सम्बन्ध घटुवा गरेको हो ।

लिथुआनियाको राजधानी भिलनिअसमा चार दिनअघि ताइवानले अनौपचारिक कूटनीतिक कार्यालय खोलेको थियो । सेप्टेम्बरदेखि चीन र लिथुआनियाबीच कूटनीतिक विवाद जारी छ ।

बाल्टिक क्षेत्रमा रहेको लिथुआनियाले ताइवानलाई अनौपचारिक दूताबास खोल्ने घोषणा गरेपछि रुष्ट बनेको चीनले अगस्टमा आफ्ना राजदूत फिर्ता बोलाएको थियो । जवाफस्वरुप लिथुआनियाले समेत सेप्टेम्बरमा चीनस्थित आफ्ना राजदूत बोलाएको थियो ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?