+
+

‘कता हिँड्दैछौं भन्ने हामीलाई थाहा छैन !’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १९:२६
फाइल तस्वीर

८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहाचिव घनश्याम भुसालले पार्टीले समाजवादको झण्डा बोकेपनि कता हिँड्दैछौं भन्ने थाहा नभएको टिप्पणी गरेका छन् ।

दशौं महाधिवेशनको पूर्वसध्यामा बुधबार सार्वजनिक अपील जारी गर्दै भुसालले सैद्धान्तिक दिशाका हिसाबले एमाले ठिक ठाउँमा भएपनि त्यसअनुसार कार्यक्रम बनाउन नसकेको बताएका छन् । ‘कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने संगठनात्मक सिद्धान्त र विधान पनि बनाइएन’ उनले भनेका छन्, ‘अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौं, तर कता हिँड्दै छौं भन्ने स्वयं हामीलाई थाहा छैन ।’

गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम नभएको र विचार/सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चा नभएको उनले बताएका छन् । यसले के ठिक वा के गलत हो भनेर पार्टी पंक्तिले विश्लेषण गर्न नसकेको भन्दै एमाले उपसमहासचिव भुसालले भनेका छन्, ‘यसले अराजकता र गुटबन्दी बढ्दै गयो । नेताहरुका स्वार्थको छद्म युद्धमा पार्टी फस्यो । त्यहि छद्म युद्धमा संसद विघटन, पार्टी विभाजन, सरकारहरुको विघटन हुँदै गयो ।’

क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरुको प्रतिस्पर्धा बन्ने र जसरी पनि जित्ने प्रतिस्पर्धाले राजनीति बिग्रने उनले बताएका छन् । ‘त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलाई ती गुटहरुको खेलौना बनाउँछ,’ अपीलमा भनिएको छ, ‘एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यतः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ ।’

भुसालको अपीलको पूर्णपाठः

नेकपा एमालेको पुनरोदयका लागि

दशौं महाधिवेशनका समस्त प्रतिनिधि समक्ष

मेरो अपील

मुलुकको नजर हामीमाथि छ

नेकपा एमालेका लाखौं सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्यूँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाका साथ दशौं राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैंले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरुको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रुपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन् । कम्युनिष्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरुको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ । हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुःखी हुने दुनियाँ भरिका कम्युनिष्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताको पक्षधरहरुले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहान्छन् । संक्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलाई हेरिहरको छ ।

संकट गहिरिंदै छ

सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो । तर हामीले या त अस्थीरता या निरङ्कुशता पायौं । करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिष्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैंले कम्युनिष्ट पार्टीको बहुमतको संसद विघटन गर्‍यौं, एकीकृत पार्टी विभाजित गर्‍यौं, संघीय र प्रादेशिक सरकारहरु भत्कायौं, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौं र अहिले हामी आफैं राजनीतिक घेराबन्दीमा परेका छौं । सबै राजनीतिक पार्टीहरु स्वार्थ केन्द्रित गुटबन्दीको भुमरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा बिचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्यायाव्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थिरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो संकट हाम्रो आफ्नै संकट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौं

अगणित पूर्खाहरुले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारण्टी पनि सिद्धान्त हो : जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीतिकेवल स्वार्थहरुको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुःख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलाई ती गुटहरुको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्ततः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् संकटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौं, नेपाली कांग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ? नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो ? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ्ग भयो ? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नु पर्छ ।

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रतान्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैंले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । २०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौं महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरुको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो । स्मरण रहोस्, त्यही निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौं महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । संक्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनााउँछ ।

कहाँ छ त समस्या ?

हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौं, कसरी लागु गर्छौं जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो । त्यस्तो कार्यक्रम लागु गर्न पार्टीका केन्द्रिय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरुले के गर्छन् ? कसरी गर्छन् ? प्रादेशिक सरकार र स्थानीय सरकारहरुले के गर्छन् ? पार्टीका नीतिहरु कसरी बनाइन्छ ? कस्ता व्यक्तिहरु पार्टी सदस्यताका लागि योग्य हुन्छन् ? कमिटीका निर्वाचन कसरी गरिन्छ ? जस्ता सबै समस्याको समाधान संगठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ । यसरी कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानको सङ्गतिपूर्ण पार्टी व्यवस्था बन्छ । हामीले कार्यदिशा त बनायौँ तर कार्यक्रम अझैसम्म बनाएनौँ । कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने संगठनात्मक सिद्धान्त र विधान पनि बनाइएन । अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौँ तर कता हिँड्दै छौँ भन्ने स्वयं हामीलाई थाहा छैन । समस्याको जरो यहीँ छ ।

उपरोक्त असंगतिले गर्दा संसद्, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो । राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाई व्यक्तिपिच्छे फरक भए। गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन । विचार/सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चासमेत भएन । दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो ? दलाल पुँजीसँग को लड्छ ? कसरी लडिन्छ ? समाजवादको तयारी भनेको के हो ? त्यसका लागि कसले के गर्नु पर्ने हो ? सिद्धान्त निर्माण गर्ने विधि के हो ? सिद्धान्त कसले बनाउँछ ? कसरी बनाउँछ ? जस्ता प्रश्न नै उठ्न छोडे । त्यसले पार्टी पंक्तिले के ठिक वा के गलत हो भनेर विश्लेषण सकेन । अराजकता र गुुटबन्दी बढ्दै गयो । नेताहरुका स्वार्थको छद्म युद्धमा पार्टी फस्यो । त्यही छद्म युद्धमा संसद विघटन, पार्टी विभाजन, सरकारहरुको विघटन हुँदै गयो । किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलाई नसुधार्ने हो भने गल्ती दोहरिँदै जानेछन् रसमयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ ।

मेरो अनुरोध

मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा छ । त्यो अहिले सबै मुख्य पार्टीहरुको पनि कार्यदिशा बनेको छ । सङ्गठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन । इतिहासको गौरव र राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौं । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरुका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्र्ने सङ्गठनात्मक व्यवस्थामा असंगतिहरु छन् ।

जसरी ज्ञान–विज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातीका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरु कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरुको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असङ्गति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधि समक्ष मेरो अपील छ ः दशौँ महाधिवेशनले कम्तिमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस् ।

घनश्याम भुसाल

उपमहासचिव, नेकपा एमाले

२०७८ मंसिर ८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?