+
+

तस्वीरमार्फत विश्वभर चर्चित बनेकी ‘अफगान बालिका’लाई ३६ वर्षपछि शरणार्थीको हैसियत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १३:००

१० मंसिर, काठमाडौं । झण्डै चार दशकअघि पत्रिकाको कभरमा तस्वीर छापिएपछि चर्चित बनेकी एक ‘अफगान बालिका’ले लामो समयपछि शरणार्थीको हैसियत पाएकी छन् ।

सन् १९८५ मा नेशनल जियोग्राफ्रिक पत्रिकाको कभर फोटोमा राखिएकी शरबत गुलालाई इटलीले शरणार्थीको हैसियत दिएको सीएनएनले जनाएको छ । उनलाई इटालियन प्रधानमन्त्री मारियो ड्रागीले शरणार्थीको हैसियत प्रदान गरेका हुन् ।

‘सन् १९८४ मा नेशनल जियोग्राफिक पत्रिकाको कभर फोटोका लागि स्टिभ म्याकरीले खिचेको पेशावरस्थित शरणार्थी शिबिरकी बालिका शरबत गुलाको तस्वीर विश्वभर प्रसिद्ध भएको थियो र उक्त तस्वीर अफगानिस्तान तथा त्यहाँका मानिसले खेपिरहेको उचारचढाव एवं द्धन्द्धको प्रतीक बनेको थियो,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अफगान नागरिकलाई स्थानान्तरण गर्ने कार्यक्रमअन्तर्गत र उनीहरूलाई शरण दिने तथा समायोजन गर्ने योजनाअनुरुप शरबतले शरणार्थीको हैसियत पाएकी पनि विज्ञप्‍तिमा उल्लेख छ । नागरिक समाज र समाजसेवी संगठनले उनीसहित अन्य अफगान नागरिकलाई देश छाड्ने क्रममा सहयोग गर्नुपर्ने अनुरोध गरेपछि प्रधानमन्त्री ड्रागीले शरणार्थीको हैसियत प्रदान गरेका हुन् ।

अमेरिकी फौजको बहिर्गमनलगत्तै यही अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि सैयौं अफगानीलाई आफ्नो मुलुकमा लैजाने पश्चिमी मुलुकमा इटली समेत रहेको छ । तर इटली सरकारले शरबतको परिवारलाई पनि शरणार्थीको हैसियत दिने वा नदिने भनेर अहिलेसम्म केही बताएको छैन ।

पत्रिकामा छापिएको शरबतको तस्बिर १९८४ मा अफगानिस्तान र पाकिस्तानको सीमास्थित एक शरणार्थी शिविरमा खिचिएको थियो । तस्वीर खिच्ने बेला उनी १२ वर्षकी अनाथ थिइन् । तर त्यतिबेला उनको नाम कसैलाई थाहा थिएन ।

म्याकरीले खिचेको तस्वीरमा नीला आँखासहितको तिखो हेराइका कारण उनको विश्वभर चर्चा भएको थियो । उनले हाल ४८ वर्षकी शरबतलाई २००२ मा पुन: देखेका थिए । शरबत पठान मूलकी महिला हुन् ।

त्यस्तै, सन् २०१४ मा शरबत पाकिस्तानमा देखिएकी थिइन् । तर पाकिस्तानी अधिकारीले नक्कली परिचयपत्र किनेको आरोप लगाउँदै उनलाई अफगानिस्तान फर्काउन आदेश दिएपछि उनी केही समय लुक्नु परेको थियो । त्यसपछि उनी अफगानिस्तान गएर बस्न थालेकी थिइन् ।

म्याकरीले सन् २०१६ मा सीएनएनसँग कुरा गर्दै कभर फोटोका लागि शरबतकै तस्वीर खिच्नुको कारण बताएका थिए ।

‘गहन नजरसहित उनको हेराइ (लुक) अद्भूत थियो भन्ने कुरा मलाई थाहा थियो,’ त्यतिबेला म्याकरीलेले भनेका थिए, ‘तर हामी वरपर अरु मानिस पनि थिए, वरपर धुलो उडिरहेको थियो र डिजिटल क्यामेराअगाडि धुलो उड्दा फिल्ममा जे पनि असर पर्न सक्थ्यो ।’

म्याकरीले ‘डेभलप’ गर्ने बेलामा तस्वीर विशेष रहेको कुरा आफूलाई थाहा भएको पनि बताए । ‘नेशन जियोग्राफिकका सम्पादकलाई तस्वीर देखाएको थिएँ,’ उनले भने, ‘सम्पादकले निकै खुशी हुँदै यसैलाई अबको कभर बनाउने भनेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?