News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा र कानूनी क्षेत्राधिकारको अभाव सीमा सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
- उनले भारत हुँदै नेपाल प्रवेश गर्ने रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू लागुऔषधजस्ता अपराधमा संलग्न रहेको कुरा औंल्याएका छन् ।
- सीमापार हुने तस्करी र साइबर ठगीजस्ता अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रविधिको प्रयोग र कूटनीतिक पहल भइरहेको उनले स्पष्ट पारेका छन् ।
८ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराए । महानिरीक्षक कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ ।
नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ ।
‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ । भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ । उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ,’ उनले भने ।
बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए । यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए ।
कानुनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा वाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट उनले पारे ।
‘हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कुटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ । सीमापार हुने केही अपराधमा नेपालको कानूनले क्षेत्र वाह्य अधिकार नदिएकाले अनुसन्धान र कारबाहीमा कठिनाइ हुने गरेको छ,’ कार्कीले भने ।
सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ ।
विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटीपीमार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको उनले बताए ।
‘विशेषगरी चोरीजस्ता मुद्दामा यो कानुनी सीमाले चुनौती सिर्जना गरेको छ । खुला सीमाका कारण हातहतियार तथा लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी, अनलाइन सट्टेबाजीजस्ता गतिविधि बढ्दो चुनौतीका रूपमा रहेका छन्,’ उनले भने, ‘यी चुनौती नियन्त्रण गर्न नेपाल प्रहरीले नियमित गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको छ ।’
प्रतिक्रिया 4