+
+

राष्ट्र बैंकले गर्‍यो चाँदी आयातमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १४:३६

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ड्राफ्ट र टीटीमार्फत चाँदीको आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको हो ।

यस्तो व्यवस्था पछि अब नेपालमा चाँदी आयात गर्दा व्यापारीले एक पटकमा बढीमा ३५ हजार अमेरिकी डलर मात्रै सटही सुविधा पाउने छन् । यस अघि चाँदीको आयात गर्दा ड्राफ्ट र टीटीमा विदेशी मुद्रा सटही सीमा थिएन । पछिल्लो केही वर्षदेखि मुलुकमा चाँदीको अस्वभाविक आयात बढेको पाइएको थियो । नेपालमा भारतमा भन्दा सस्तोमा चाँदी पाइने भएपछि नेपालबाट भारततर्फ चाँदी तस्करी बढेको थियो ।

चालु आवको चार महिनामै आयात उच्च भएसँगै ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटेको भन्दै राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको थियो । मौद्रीक नीतिको समीक्षामार्फत चाँदीको आयातमा सीमा तोकिएको नेपाल समुन्द्रपार निकासी पैठारी संघले जनाएको छ । यस अघि सीमा नतोकिएको चाँदी आयातमा विदेशी मुद्रा सटही सुविधाले केही अंकुश लगाउने संघका उपाध्यक्ष विनोदकुमार सेठियाले बताए । ‘चाँदी आयात गर्दा ड्राफ्ट र टीटीमा अधिकतम् डलर सीमा यसअघि थिएन । अहिले ३५ हजार कायम भयो,’ उपाध्यक्ष सेठियाले अनलाइनखबरसँग भने ।

मौद्रीक नीतिको समीक्षाले चाँदी आयातमा गरिएको कडाइ औद्योगिक क्षेत्रमा पर्न नहुने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दराले बताए । चाँदी व्यापारको वस्तु नभए पनि यसको औद्योगिक खपत राम्रो रहेको र त्यसमा प्रभाव पर्न नहुने अध्यक्ष मुन्दराको भनाइ छ ।

भन्सार विभागको विवरणअनुसार चालु आवको तीन महिनाम १० करोड ७९ लाख १० हजार १६२ ग्राम अर्थात १ लाख ७ हजार ९१० किलो चाँदी नेपाल भित्रिएको थियो । यो परिमाणको चाँदी आयात गर्न नेपालबाट १० अर्ब १७ करोड १४ लाख ३८ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको थियो । उच्च आयातमा संलग्न फर्म तथा कम्पनीको कारोबार संकास्पद रहको पाइएपछि अहिले राजस्व अनुसन्धान विभागले उनीहरुको कारोबार छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative