
१२ मंसिर, काठमाडौं । तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसलाई चलायमान बनायो । अक्षय कुमार र कट्रिना कैफ अभिनित यो चलचित्रले भारतमा मात्र नभएर नेपालमा पनि सुखद् व्यापार गर्यो । ‘सूर्यवंशी’को सुखद् व्यापारले हलमा दर्शक फर्किएको अपेक्षा नेपाली वितरक तथा निर्माताहरुले गरेका छन् ।
तर, यसपछि रिलिज भएका तीन हिन्दी चलचित्रको व्यापारले भने फेरि माहोल शिथिल बनाएको छ । एक साता अगाडि रिलिज भएको चलचित्र ‘बन्टी और बब्ली २’ बक्स अफिसमा नराम्रोसँग पछारियो । यो चलचित्रले नेपाली दर्शकलाई पनि हलमा तान्न सकेन ।
यस्तै, गत बिहीबारबाट रिलिज भएको अभिनेता जोन अब्राहमको चलचित्र ‘सत्यमेव जयते २’बाट नेपाली वितरकहरु आशावादी थिए । तर, भारतमा समेत कमजोर व्यापार गरेको यो चलचित्रले नेपालमा पनि दर्शक तान्न सकेन ।
शुक्रबारबाट रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘अन्तिम’को ओपनिङ समेत कमजोर देखिएको छ । चलचित्रका वितरक मनोज राठीले भने, ‘शुक्रबार अन्तिमको व्यापार अपेक्षा अनुसार नभएको पक्का हो । शनिबार भने चलचित्रको व्यापार केही बढेको छ । आज (आइतबार) पनि शुक्रबारको भन्दा धेरै व्यापार हुने देखिएको छ ।’
राठीले ‘सत्यमेव जयते २’को समीक्षा राम्रो आएर पनि दर्शक हलसम्म नपुगेकोमा भने आश्चर्य प्रकट गरे । उनी भन्छन्, ‘जाडो महिनामा नेपाली दर्शक हलसम्म नपुगेको उदाहरण यस अगाडि पनि छन् । शायद, त्यसको पनि असर भएको हुनुपर्छ ।’
दुवै चलचित्रलाई ‘ए एट फिल्मस्’ले नेपालमा वितरण गरेको हो । वितरक राठीले अगाडि भने, ‘सलमानको अघिल्ला केही चलचित्र असफल भएका कारण पनि दर्शकले उनीमाथि विश्वास नगरेको हुनसक्छ । तर, चलचित्रको समीक्षा राम्रो आउन थालेपछि दर्शक बढेका छन् ।’
अर्को साता नेपालमा हिन्दी चलचित्र ‘तडप’ रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4