+
+

सञ्चिताको मातृत्व अनुभव : छोराछोरी हुर्काउन चार वर्ष कलाकारिता छाडें

सम्झना विक सम्झना विक
२०७८ मंसिर १२ गते १८:३९

१२ मंसिर, काठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेल दुई सन्तानकी आमा हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरा भर्खरै १० वर्ष लागे भने छोरी नौ वर्षकी भइन् । एक वर्ष उमेर अन्तरका छोराछोरी हुर्काउन उनलाई सकस नै थियो । सञ्चिताको छोराछोरी हुर्काउँदाको अनुभव आफ्नै किसिमको छ ।

‘बाबु (छोरा) जन्मेको एक वर्षमै नानी जन्मिइन् । बाबु र नानीको बीचमा एक वर्ष मात्र उमेर फरक भएकाले छोराछोरी सँगै हुर्किए । छोराले जे खेल्यो छोरीले पनि त्यही खेलिन्,’ उनले भनिन् ।

उनका छोराले खेल्ने बल नै छोरीले पनि खेलिन् । कपडाको रंगको बारेमा पनि आफूले कुनै फरक नगरेको सञ्चिता बताउँछिन् । छोरालाई नीलो, छोरीलाई गुलाबी आफूले नगरेको र बाबु नानी दुवैलाई सबै रंगका कपडा लगाइदिने गरेको उनले बताइन् । फिल्मको प्रस्ताव आएपनि छोराछोरी सानै भएकाले त्यसबेला काम गर्न मन नलागेको उनले सुनाइन् । ‘गर्भवती भएदेखि नै बच्चाको मात्र ध्यान हुँदो रहेछ,’ उनले भनिन्, ‘जब गर्भमा बच्चा रह्यो मैले कामलाई बन्द गरे, आफूलाई पहिला भन्दा बढी समय दिन थाले, घरकै खाना खान्थें । जंक फुडबाट एकदमै टाढा भागे, हामीले जे गर्छौं हाम्रो बच्चालाई त्यसको प्रभाव पर्छ त्यसैले सकारात्मक कुरालाई जोड दिए, आफू साहित्यको विद्यार्थी भएकाले पनि खाली समय साहित्यिक पुस्तक पढें, राम्रा राम्रा सिनेमा हेरें ।’

उनले अगाडि सुनाइन्, ‘तनाव नभएकाले स्वास्थ्य पनि राम्रो भयो । मैले दुवै स्वस्थ बच्चा जन्माएँ । छोरा काखमा छोरी पेटमा हुँदाको अनुभव बेग्लै हुँदो रहेछ । छोरालाई खेलाउँदा छोरीले पेटमा चल्ने र पेट काखमा बच्चा हुँदा एकदमै रमाइलो र जिम्मेवार भइँदो रहेछ ।’

बच्चाहरुलाई तेल लगाइदिने, खाना खुवाउने, खेलाउने उनले नै गरिन् । बुबा निखिल उप्रेती कामको व्यस्तताले समय दिन नपाउने भएकाले सञ्चिताले दुवै बच्चालाई पर्याप्त समय दिइन् । उनले बच्चालाई सन्तुलित आहार नै खुवाइन् । बजारमा पाइने खानाभन्दा आफ्नो भान्सामा पाक्ने खाना बच्चालाई खुवाउनुपर्ने सञ्चिताको सुझाव छ ।

‘बच्चाहरुसँग बच्चा नै भएर व्यवहार गर्नुपर्छ । मेरो छोराछोरीलाई मैले उनीहरुकै उमेर अनुुसारको व्यवहार गरें,’ उनले भनिन् । बिहान चाँडै उठाउने र बेलुका चाँडै नै सुताउने, आफूनो कामहरु आफै गराउने ओेछ्यान मिलाउन लगाउने, कोठा सफा गर्न लगाउने भान्छामा बाबु नानीलाई तरकारी केलाउन, आलु काट्न, साग धुन, आफ्ना लुगा मिलाउन सिकाउने गरेको सञ्चिता बताउँछिन् ।

‘मेरा कति साथीले बच्चालाई जन्मिएको एक हप्तामै पनि छाडेर काममा फर्कनु परेको थियो । त्यो उनीहरुको बाध्यता थियो,’ सञ्चिताले सुनाइन्, ‘मेरो अवस्था यसमा फरक रह्यो । कलकारिता १० देखि ५ बजेसम्मको काम नभएकाले मलाई सजिलो भयो । मैले बच्चाको लागि कलाकारिताबाट चार वर्ष टाढा रहें । छोरालाई सात महिना र छोरीलाई दुई वर्षसम्म दूध खुवाएँ, मैले मेरो बच्चाको अधिकार पूरा गरेंजस्तो लाग्छ ।’

बच्चालाई दिने खानाको सवालमा पनि उनी चनाखो रहिन् । छोराछोरीलाई घरकै खाना र खाजा खुवाउने गरेको सञ्चिताले बताइन् । दुई वर्षयता मात्रै उनले हप्ताको एक दिन जंक फुड दिने गरेकी छन् ।

अहिले सबै महिला कामकाजी भइसकेका छन् । महिलाले यो गर्ने, पुरुषले त्यो गर्ने भन्ने कुरा पनि विस्तारै कम हुँदैछ । आफ्नो हुर्काइको अनुभव सुनाउँदै सञ्चिता भन्छिन्, ‘आफूहरु पनि बाबा आमाको तीन जना छोरी । बाबा आमा दुवै सरकारी जागिरे भएकाले हामीलाई राम्रोसँग हुर्काउनुभयो । बाबा–आमाले छोराको कमी महसुस कहिले गर्नुभएन । हामीलाई पढ्न, लेख्न, हिँड्न कहिले रोक्नु भएन । कलाकारितामा रुचि देखाउँदा उहाँहरुले स्वीकृति दिनुभयो मलाई सिनेमा काम गर्न घरबाट स्वतन्त्रता मिल्यो ।’

सञ्चिता छोराछोरीलाई चित्र कोर्न, नाच्न र जिम्मेवारी सिकाउन विभिन्न अभ्यास गराउने गर्छिन् । शुद्ध नेपाली बोल्नका लागि बिहान मन्त्र उच्चारण गर्नसमेत लगाउँछिन् । ‘अंग्रेजी सिक्नुपर्छ, बोल्नुपर्छ । तर नेपाली विषय र भाषालाई प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन् ।

सञ्चिता अंग्रेजी साहित्यकी विद्यार्थी हुन् । उनले सोही विषयमा स्नातकोत्तर गरेकी छन् । उनी किताबी ज्ञान मात्र काफी नभएकोले बच्चालाई आफ्ना भोगाइ पनि बाँड्नुपर्ने सुझाव दिन्छिन् । ‘आफूले जे जानेको छ त्यो सबै सिकाउनुपर्छ, उनीहरुलाई सामाजिक शिक्षा, हजुरबुवा–हजुरआमाको संगत गराउनुपर्छ,’ सञ्चिताको सुझाव छ ।

हजुरबुवा–हजुरआमा अनुभव र ज्ञानको सागर भएकाले उनीहरुबाट बालबालिकाले धर्म, संस्कृति, अनुशासनका बारेमा जान्ने मौका पाउँछन् । छोरीलाई भर्खरै गुन्यू–चोलो दिँदै महिनावारीको विषयमा पनि बताएको उनले बताइन् ।

महिला शारीरिक, मानसिक र आर्थिक रुपमा सक्षम भएपछि मात्र आमा बन्नुपर्ने सञ्चिताको बुझाइ छ । ‘हरेकको शारीरिक बनावट, स्वास्थ्य, जीवनशैली एकैनासको हुँदैन,’ उनी भन्छिन्, ‘कसैको टिप्स सुन्नसम्म ठीक छ तर हुबहु नक्कल हुँदैन ।’

लामो समयपछि फेरि उनी चलचित्रमा काम गर्दैछिन् । छोराछोरीलाई गृहकार्य गराउँदै उनी चलचित्रको स्क्रिप्ट पढिरहेकी छन् । छायाँकनमा व्यस्त भएका बेला साँझमा घर फर्केपछि छोराछोरीलाई आफ्ना दिनभरिका कुरा सुनाउने र उनीहरुका कुरा सुन्ने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?