
१६ मंसिर, काठमाडौं।आयरल्याण्डमा बुधबारदेखि ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
आयरल्याण्डको शिक्षा विभागले मास्क लगाएका विद्यार्थी र शिक्षक-कर्मचारी मात्रै विद्यालय प्रवेश गर्न पाउने बताएको छ । त्यस्तै, विद्यार्थीले सार्वजनिक सवारीसाधन र स्थलमा समेत अनिवार्य मास्क लगाउनु पर्नेछ ।
विभागले अभिभावकलाई १२ वर्षमुनिका बालबालिकाले घरभित्र अरुसँग गर्ने अन्तर्क्रिया सीमित पार्न समेत भनेको छ । समुदायमा कोभिड-१९ नफैलियोस् भनेर केही हप्ता घरभित्र हुने बालबालिकाको क्रियाकलाप सीमित पार्न भनिएको हो ।
विद्यालयले केही दिनभित्रै यो नियमलाई खुकुलो पार्न सक्ने पनि शिक्षा विभागले प्रस्ट पारेको छ ।
तर श्वासप्रश्वाससम्बन्धी समस्या वा अन्य स्वास्थ्य समस्या भएको भन्दै मेडिकल प्रमाणपत्र पेश गरेको वा अरुको सहयोगबिना मास्क खोल्न नसक्ने अवस्थामा भने विद्यार्थी र शिक्षकले मास्कबिनै विद्यालय प्रवेश गर्न सक्ने विभागको भनाइ छ ।
यसअघि १३ वर्ष वा सोभन्दा माथिका बालबालिकाको हकमा मात्रै मास्क प्रयोग अनिवार्य बनाइएको थियो ।
शुक्रबारदेखि आयरल्याण्डका विमानस्थल र बन्दरगाहमा आउने यात्रुले पछिल्लो २४ घण्टामा गरिएको कोभिड-१९ नेगेटिभसहितको सामान्य परीक्षण रिपोर्ट वा ७२ घण्टाभित्र कोभिड-१९ नेगेटिभसहितको पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रतिक्रिया 4