+
+

यात्रामा कडाइ गरेर विदेश घुम्न हिँडेपछि इजरायली प्रधानमन्त्रीको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १८:०५

१६ मंसिर, काठमाडौं । जनतालाई विदेशको यात्रा नगर्न भनेर आफैं सपरिवार विदेश घुम्न गएपछि इजरायली प्रधानमन्त्रीको आलोचना भएको छ ।

पत्नी र ४ जना छोराछोरीसहित प्रधानमन्त्री नफताली बेनेट विदा मनाउन भन्दै विदेश घुम्न गएपछि उनको आलोचना भएको हो ।

केही दिनअघि कोभिडको नयाँ भेरियन्टका संक्रमित फेला परेपछि बेनेट नेतृत्वको सरकारले सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको थियो भने नागरिकलाई सकेसम्म विदेश नजान आग्रह गरेको थियो ।

तर आफैंले घोषणा गरेका प्रतिबन्धात्मक नियम पालना नगरेको भन्दै बेनेटको आलोचना भएको टीआरटी वर्ल्डले जनाएको छ । विपक्षी राजनीतिज्ञदेखि सर्वसाधारणले उनको आलोचना गरेका छन् ।

‘यो उनको व्यवहारको प्रमाण हो’, विपक्षी दलका सांसद इजरेल कार्ट्जले आर्टी रेडियोसँग कुरा गर्दै भने, ‘यो जनताप्रति उनको जिम्मेवारीको प्रमाण हो, व्यक्तिगत उदाहरण बन्न नसकेको प्रमाण हो । उनले आफू जे मन लाग्यो त्यही गर्न सक्छु भन्ने ठान्छन् ।’

त्यस्तै, सर्वसाधारण इजरायलीले सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै बेनेटको नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

‘हामीहरू यहाँ प्रतिबन्धका कारण अलपत्र परिरहेका बेला विदेशमा घुमिरहेको परिवारलाई शुभकामना’, आना गेट्सम्यान नामकी महिलाले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेकी छन् ।

बुधबार बेनेटको कार्यालयले उनी सपरिवार विदेशमा विदा मनाउन जाने बताएको थियो । तर यसअघि तय गरिएको मुलुक ‘रातो सूची’मा परेपछि बेनेट र उनको परिवार घुम्ने मुलुक परिवर्तन गरिएको प्रधानमन्त्री कार्यालयका विज्ञप्तिमा उल्लेख छ ।

तर उनीहरूले हानुकाहका अवसरमा विदा मनाउन जाने स्थानबारे उक्त विज्ञप्तिमा केही खुलाइएको छैन ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट फेला परेपछि इजरायलले सबै विदेशीका लागि आफ्नो सीमा बन्द गरेको छ । अफ्रिकाका अधिकांश मुलुकतर्फको यात्रामा प्रतिबन्ध लगाइएको भए पनि इजरायलीहरू अन्य मुलुकमा जान सक्ने र फर्किएपछि क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

बुधबार नै फेसबुकमा नयाँ भेरियन्टबारे अन्तर्क्रिया गर्ने क्रममा बेनेटलाई सपरिवारसहितको विदेश भ्रमणबारे सोधिएको थियो । उनले जवाफ दिने क्रममा आफूले यात्रासम्बन्धी कुनै नियम उल्लंघन नगरेको बताएका थिए ।

‘आलोचनालाई मैले बुझ्छु’, उनले जवाफमा लेखेका थिए, ‘प्रतिबन्धात्मक नियम पालना गर्दै अरु पनि विदेश गइरहेका छन् र म तोकिएबमोजिक क्वारेन्टाइनमा बस्नेछु ।’

यसअघि शुक्रबार बेनेटले पत्रकार सम्मेलनमा कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियममा कडाइ गरिने बताएका थिए । ‘यदि मलाई सोध्नु भयो भने मैले यस्तो अनिश्चयबीच विदेश नजान सुझाव दिन्छु’, पत्रकार सम्मेलनमा उनले भनेका थिए । टीआरटी वर्ल्डबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?