+
+

बंगालको खाडीमा चक्रवात : अप्रत्यक्ष प्रभाव नेपालमा पनि, वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते ९:३७

१८ मंसिर, काठमाडौं । बंगालको खाडीमा आएको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । यसको प्रभावको कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहानभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको थियो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम भूभागमा सामुद्रिक चक्रवात बनेको छ । अरबी भाषाबाट ‘जवाद’ नाम दिइएको सो चक्रवातको प्रभाव नेपालमा खासै ठूलो प्रभाव पर्ने छैन । तर पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात हुनसक्ने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । साथै सोही प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत छ । जवाद चक्रवातको असर आउँदो सोमबारबाट क्रमशः नेपालमा कम हुँदै जानेछ ।

आइतबारदेखि पुनः अर्को प्रणाली

तर आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने छ । सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

साथै ती प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत औंल्याइएको छ । सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको सम्भावनासमेत छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?