+
+

सुन्दर दृश्य हेर्न लालायित आँखाले भयानक दुर्घटना देख्नुपर्‍यो !

मोडमा ब्याक गर्दा खसेको थियो शिक्षक, विद्यार्थी चढेको जिप

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १५:१५

२३ मंसिर, पोखरा । मर्स्याङ्दी गाउँपालिका–९, लमजुङको गणेश माविले योजना बनायो, ‘विद्यार्थीको एउटा समूहलाई लुम्बिनी, पाल्पा, पोखरा शैक्षिक अवलोकन भ्रमण गराउँदै फर्किने र अर्को टोलीलाई लमजुङकै पर्यटकीय ठाउँको अवलोकन र पिकनिकमा लैजाने ।’

विद्यार्थीको चाहाना र विद्यालयको योजनाअनुसार प्रधनाध्यापक पूर्ण थापाको नेतृत्वमा ४ जना शिक्षक तथा ९ र १० का ५० जना विद्यार्थी लिएर बुधबार लुम्बिनीतिर हिँड्यो । बिहीबार बिहान ६ र ७ का ४४ जना विद्यार्थी र ७ जना शिक्षक मर्स्याङ्दी गाउँपालिकाकै पिस हिल भन्ने डाँडामा अवलोकन तथा पिकनिकका लागि निस्कियो ।

मर्स्याङ्दी–८ स्थित पिस हिल आकर्षणको केन्द्र बनिरहेको पर्यटकीय गन्तव्य हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार जहाँबाट हिमशृङ्खलाका लहरसँगै लमजुङका अधिका‌ंश पालिका र सुन्दर दृश्यहरु देखिन्छ । पालिकाले त्यहाँ वुद्धको मूर्तिलगायत विभिन्न पर्यटकीय संरचना पनि बनाइरहेको छ । पछिल्लो समय आकर्षणको केन्द्र बनिरहेको पिस हिलबाट सुन्दर दृश्य पनि हेर्ने र पिकनिकमा पनि रमाउने अभिलासासहित शिक्षक विद्यार्थी ३ वटा जिपमा जाँदै थिए ।

भुस्मे भन्ने ठाउँबाट पिल हिल पुग्न १ घन्टाको उकालो लाग्नुपर्छ । भुस्मेमा साँघुरो घुम्ति हुँदै २ वटा जिप अगाडि बढिसकेको थियो । पछिल्लो जिपलाई मोड नपुगेपछि ब्याक गर्नुपर्‍यो । ‘मोड नपुगेर जिप ब्याक हुँदै थियो, हेर्दा हेर्दै जिप आँखै अगाडि घुम्तिबाट खस्यो,’ त्योभन्दा अघिल्लो जिपमा रहेका शिक्षक महेन्द्र न्यौपानेले भने, ‘जिपका शिक्षक, विद्यार्थीको चिच्याहट सुनियो । पिस हिलमा रमाउने हिँडेको समूहले भयानक दुर्घटना देख्नुपर्‍यो ।’

साढे ११ बजेतिर भएको दुर्घटनामा एक जना शिक्षक र २ जना विद्यार्थीको ज्यान गएको छ, ९ जना घाइते भए ।

मृत्यु हुनेमा शिक्षक ३६ वर्षीय कमल थापा, कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रनिशा गुरुङ र कक्षा ६ अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ र उनीहरुलाई उपचारका लागि चितवन पठाइएको छ । ६ जनाको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने एक जना सामान्य घाइते उपचारपछि घर फर्किइएको लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

‘जिपमा १६ जना थिए । ५ जना सकुशल छन् । उनीहरु र बाँकी २ वटा जिपका शिक्षक विद्यार्थीलाई घर पठाइएको छ,’ डीएसपी कार्कीले भने, ‘मृतकको शव लमजुङ अस्पतालमा राखिएको छ ।’

स्थानीयबासी, प्रहरी, स्थानीय शिक्षक र विद्यार्थीले दुर्घटनामा परेकाहरुको उद्धार गरेका थिए ।

घटनापछि लुम्बिनी भ्रमणका गएका शिक्षक, विद्यार्थीको टोली पनि लमजुङ फर्किएको प्रधानाध्यापक पूर्ण थापाले बताए । ‘लुम्बिनी घुमेर खाना खाँदै थियौं, दुःखद् खबर सुन्यौं । भ्रमण स्थगित गरेर हामी पनि फर्किँदै छौं,’ थापाले भने, ‘घटनाले विद्यालयलाई ठूलो क्षति पुगेको छ,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?