+
+

एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १८:१५

२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै भएको टिप्पणी गरेका छन् ।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको बताएका हुन् ।

एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा प्रचण्डले एमाले अधिवेशन विचारहीनता र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए ।

‘तपाईं हामी सबैले देख्यौं नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहीनताको प्रदर्शन गरियो’ प्रचण्डले एमालेबारे भने ।

त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै उनले आलोचना गरे ।

‘उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन’ उनले भने ।

प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनको भनाइ छ ।

‘हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिँड्ने बाटो यही हो भन्ने कुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले । हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन । हेर्न खोज्यो चित्र धमिलो हुन्छ । हेर्दै गयो भने अध्याँरो देखिन्छ’ उनले भने ।

माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै प्रचण्डले माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?