
२७ मंसिर, काठमाडौं । मेलम्ची नदीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री ‘गड्स बफ्यालो’ काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा ‘उत्कृष्ट माउन्टेन फिल्म’ अवार्ड जित्न सफल भएको छ ।
विष्णु कल्पितको निर्देशन र छायांकन रहेको यो फिल्मले एक हजार अमेरिकन डलरसमेत जित्न सफल भएको छ ।
फिल्मले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड पनि प्राप्त गर्दै ७५ हजार जित्यो । बाढीमा बगेको भैंसी फिर्ता पाउन भैंसी मालिकले कस्तो संघर्ष गर्छन् भन्ने कुरा डकुमेन्ट्रीमा देखाइको छ ।
यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गतको उत्कृष्ट फिक्सन-फिल्म किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’ले जित्यो । २२ मिनेट लामो यो लघु फिल्ममा बोल्न नजान्ने आफ्नो छोराका लागि एक आमाले गर्ने भौतिक र मनोवैज्ञानिक यात्रा समेटिएको छ ।
पुजा गुरुङ र विभुषण बस्नेतको फिल्म ‘बिग हेडेड बोय : समनस एण्ड समराइ’ले भने फेस्टिभलको स्पेसल मेन्सन अवार्ड पायो ।
किम्फको अन्तिम दिन सोमबार चलचित्र विकास बोर्डको हलमा पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया 4