News Summary
Generated by OK AI. Editorially reviewed.- जारी काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा नेपाल र स्विट्जरल्याण्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय यात्राबारे संवाद गरिएको छ ।
- कार्यक्रमको उद्घाटन गर्दै स्विट्जरल्याण्डकी राजदूत ड्यानिएल मेउलीले भनिन्, ‘हामी सिनेमाको शक्ति, विविधता र बहुसांस्कृतिकता प्रवद्र्धन गर्ने क्षमतामा विश्वास गर्छौं ।’
- छलफलमा निर्देशक अविनाशविक्रम शाह, मीनबहादुर भाम र निर्माता रामकृष्ण पोखरेलले नेपाली सिनेमाको बदलिँदो स्वरूप र अन्तर्राष्ट्रिय सहकार्यका अनुभवबारे चर्चा गरे ।
जारी काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय यात्रा र सम्भावनाबारे छलफल गरिएको छ । नेपाल र स्विट्जरल्याण्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा ‘अल्पाइन अलायन्सेज : न्यू वेब अफ नेपाली सिनेमा’ विषयक संवाद कार्यक्रम गरियो ।
महोत्सवको दोस्रो दिन विहिबार आयोजित सत्रमा निर्देशक अविनाशविक्रम शाह, निर्देशक मीनबहादुर भाम र निर्माता रामकृष्ण पोखरेल सहभागी थिए । अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्विस फिल्म ल्याबमार्फत विश्व दर्शकमाझ आफ्नो पहिचान बनाएका उनीहरूले नेपाली सिनेमाको बदलिँदो स्वरूप र अनुभवबारे चर्चा गरे ।
प्यानलको सहजीकरण अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर तथा निर्णायकमण्डल प्रमुख दीप्ति डी’कुन्हा ले गरेकी थिइन् । छलफलमा स्थानीय कथावाचन र अन्तर्राष्ट्रिय दर्शकबीच विकसित हुँदै गएको सम्बन्ध, नेपाली कथालाई विश्वमञ्चमा पुर्याउने सम्भावना तथा त्यस क्रममा सामना गर्नुपर्ने चुनौतीबारे विचार आदानप्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन स्विट्जरल्यान्डकी राजदूत ड्यानिएल मेउलीले गरेकी थिइन् । उनले स्विट्जरल्याण्ड र किम्फबीच लामो समयदेखि रहँदै आएको सहकार्य तथा दुई देशबीचको सांस्कृतिक सम्बन्धको स्मरण गरिन् ।

उनले भनिन्, ‘हामी सिनेमाको शक्ति, विविधता र बहुसांस्कृतिकता प्रवद्र्धन गर्ने क्षमतामा विश्वास गर्छौं । यही विश्वासका कारण हामीले लामो समयदेखि किम्फलाई सहयोग गर्दै आएका छौं ।’ उनले यो विशेष सत्रलाई नेपाल–स्विट्जरल्याण्ड सम्बन्धको सुन्दर सांस्कृतिक प्रतिबिम्बका रूपमा समेत व्याख्या गरिन् ।
छलफलका क्रममा वक्ताले लोकार्नोजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफ्ना फिल्म प्रदर्शन गर्दाको अनुभव सुनाए । उनीहरूले अन्तर्राष्ट्रिय सहकार्य आर्थिक सहयोगमा मात्र सीमित नरही सिर्जनात्मक आदानप्रदान, पोस्ट–प्रोडक्सन अवसर, मेन्टरसिप र कलात्मक परामर्शसम्म फैलिएको उल्लेख गरे ।
फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक समेत रहेका शाहले अन्तर्राष्ट्रिय सहकार्यले सिर्जनात्मक दृष्टिकोण फराकिलो बनाउने बताए । ‘विदेशी दृष्टिकोण वा कुनै नयाँ नजरले फिल्ममा पहिले नसोचेका नयाँ आयाम वा सूक्ष्मता थप्न सक्छ,’ उनले भने ।
छलफलमा प्रमुख अन्तर्राष्ट्रिय फिल्म महोत्सव र उद्योग नेटवर्कसँग अझै जोडिन नसकेका उदीयमान फिल्मकर्मीले भोगिरहेका चुनौतीबारे पनि चर्चा गरिएको थियो ।
कलाकार, निर्णायक, फिल्मकर्मी र दर्शकको उल्लेख्य सहभागिता रहेको उक्त सत्रमा नेपाली सिनेमाको भविष्य, विश्व बजारमा यसको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यको महत्वबारे केन्द्रित अर्थपूर्ण संवादका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
किम्फ अहिले ठमेलस्थित क्यूएफएक्सको छायाँ हलमा चलिरहेको छ ।




प्रतिक्रिया 4